मुख्य समाचार

ओली–प्रचण्डबीचको संवाद खुलाउन नेम्वाङ खुमलटारमा

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचमा संवाद नभएको एकसातापछि ओलीको दूतका रुपमा सुवास नेम्वाङ खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री ओलीले गत मंगलवार कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा स्थानीय प्रदेश कमिटीलाई नै कर्णाली विवादका विषयमा निर्णय गर्ने जिम्मा दिन गरेको प्रस्ताव विपरित अलग्गै चार वुँदे सहमति प्रचण्डसँग भएको प्रेस नोट आफ्ना प्रेस सल्लाहकार सूर्य थापामार्फत एकतर्फी रुपमा जारी गर्न लगाएपछि विवाद उनीहरुबीच संवाद हुन नसकेको अवस्थामा नेम्वाङ खुमलटार पुगेका हुन् ।

यो बीचमा ओलीले बरिष्ठ नेता माधव नेपाललाई प्रचण्डसँग मिल्न नदिन र आफूतिरै तान्ने प्रयासमा उनले दुई पटक एक्लाएक्लै भेटेपछि प्रचण्ड झन चिढिएका थिए । तर माधव नेपालले ओलीले अगाडि सारेको विभिन्न प्रस्तावमा सहमत हुन सकिरहेका छैनन । ओलीको नेपाल फकाउने प्रयास पनि असफल भएपछि प्रधानमन्त्री ओलीले सम्वादहिनतामा रहेका अर्का अध्यक्ष प्रचण्डसँग फेरि दूतमार्फत सम्वाद गर्ने प्रयास थालेको स्रोतको दावी छ ।

त्यही क्रममा उनले हिजो बुधबार आफ्नो दूतका रुपमा पूर्वसभामुख तथा स्थायी समिति सदस्य सुवास नेम्वाङलाई खुमलटारस्थित प्रचण्ड निवास पठाएका थिए । नेम्वाङ ओली र प्रचण्डका बीचमा टुटेको सम्वाद पून थालनी गर्न र आपसी अविश्वास र विवादलाई छलफलकै माध्यमबाट अगाडि बढाउन माग गर्दै खुमलटार पुगेका बताइन्छ ।

गत भदौमा लामो विवादपछि स्थायी समिति बैठकले दुई अध्यक्षको जिम्मेवारीलाई थप परिभाषित गर्दै मन्त्रीपरिषद् पूर्नगठन गर्ने, राजनीतिक सम्वैधानिक नियुक्तिहरु पार्टीभित्र छलफल गरेर गर्ने लगायतका १५ बुँदे प्रस्ताव पारित गरेको थियो । तर त्यो निर्णय ओलीले कार्यान्वयन नगरेको आरोप प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुले लगाएका छन् । तर ओली पक्षका नेताहरुले भने मन्त्रिपरिषद् पूर्नगठन तिहारपछि व्यापक रुपमा गर्ने र अहिले अध्यक्ष प्रचण्डको सहमतिमै रिक्त तिन मन्त्रालयमा मात्र मन्त्री नियुक्त गरेको प्रष्टिकरण दिँदै आएका छन् ।

तर यस बीचमा ओलीले नियुक्तिहरु एकलौटी फेरि गरेको, मन्त्रिपरिषद्का रिक्त मन्त्री नियुक्तिमा पार्टीभित्र सहमति नगरेको, कर्णालीमा अनावश्यक विवाद झिकेको र पार्टी एकता विपरितको काम गर्ने प्रयास गरेको, अध्यक्ष प्रचण्डसँग सल्लाहबिनै मुख्यमन्त्रीलाई निर्देशनात्मक शैलीमा सर्कुलर गरेको र भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुखलाई वालुवाटार बोलाएर भेट गरेको विषय अहिले नेकपाभित्र विवाद बनिरहेको छ । जसकाकारण ओली र प्रचण्डका बीचमा पनि विवाद बढेको छ । यही विवादले ओलीलाई फेरि अप्ठ्यारो पार्ने देखेपछि उनले आफ्ना दुत नेम्वाङलाई सम्वादहिनता तोडनका लागि खुमलटार पठाएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *