मुख्य समाचार

भारतीय सेनाप्रमुख नरवाणेको नेपाल भ्रमण विवादस्पद बनाउने प्रयास

काठमाडौं । भारतीय सेनाप्रमुख मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणलाई विवादमा तान्ने प्रयास गरिएको छ । कतिपयले सेनाप्रमुख नरवाणेको नेपाल भ्रमणले दुई देशीय कुटनीतिक सम्बन्ध सुधार हुनसक्ने टिप्पणी भइरहेका बेला केही विज्ञले भने उनको भ्रमण नै हुन नहुने बताएर विवादमा तान्ने प्रयास गरेका हुन् ।

अहिलेको आवश्यकता सैनिक कुटनीतिभन्दा पनि उच्चस्तरीय भेटवार्ताको रहेको हुँदा सेनापति नरवाणेको भ्रमण असान्दर्भिक भएको बताएका हुन् । भारतमा सेनापति परिवर्तन भएपछि नेपालको राष्ट्रप्रमुखबाट मानार्थ महारथीको पदवी लिने परम्परालाई निरन्तरता दिन मनोजमुकुन्द नरवाणे कार्तिक १८ नेपाल आउँदैछन् ।

सरकार र कतिपय विज्ञले भारतीय सेनापतिको भ्रमणलाई सकारात्मक रुपमा लिएका छन् । सीमाको विषयलाई लिएर दुई देशबीचको सम्बन्धमा चिसोपना बढिरहेका बेला भारतीय सेनापति नेपाल आउनु वार्ताको माहोल मिलाउने अवसर भएको उनीहरूको बुझाइ छ । नरवाणेको भ्रमणलाई कुटनीतिक सम्बन्ध सुधार र अतिक्रमित भूमि फिर्ता ल्याउने अवसरका रूपमा प्रयोग गर्नुपर्नेमा विज्ञको जोड छ ।

केहीले दुई देशबीच सम्बन्ध सुधार गर्न कोसेढुंगा सावित हुने विश्लेषण गरिरहँदा कतिपयले भने नरवाणेको भ्रमण असान्दर्भिक भएको बताउँछन् । केही समयअघि नेपालविरुद्ध अभिव्यक्ति दिएका उनलाई मानार्थ उपाधि दिनै नहुने उनीहरूको तर्क छ । साथै नेपाललाई सैन्य कुटनीति भन्दा पनि उच्चस्तरीय राजनीतिक भेटवार्ताको खाँचो रहेको उनीहरूको भनाइ छ ।

भारतीय सेनापतिको भ्रमणको समर्थन र विरोध भइरहँदा सरकारी पक्षले भने उच्चस्तरीय भेटघाटको तयारी पूरा गरिसकेको छ । राजनीतिक स्तरमा कुरा गर्नुको साटो सैनिक कुटनीतिलाई माध्यम बनाउन खोजेको भन्दै सरकारको आलोचना समेत चुलिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *