काठमाडाैं । भारतीय गुप्तचर निकाय ‘रिसर्च एण्ड एनालाइसिस वीङ’ (रअ)को कार्यभार सम्हालेको एक वर्षपछि त्यसका प्रमुख सामान्तकुमार गोयल नेपाल आए । एउटा खुफिया एजेन्सीका प्रमुख विमान चार्टड गरेर उनी नेपाल आउनुलाई राजनीतिक वृत्तमा चर्चा मात्रै भएन प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना पनि भयो । सत्तारुढ दलकै नेताहरुले पनि आलोचना गरे ।
बुधबार मध्यान्ह करिव १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भारतीय वायु सेनाको विमान आयो । उक्त विमानमा को -को छन ? कति जना थिए ? भन्नेबारे विमानस्थल कर्मचारीसमेत जानकार थिएनन्। अहिले नेपाल र भारतबीच कोरोनाका कारण नियमित उडान बन्द छ । यही बन्दका कारण उक्त विमानले कुटनीतिक उडानको अनुमति लिएको थियो । उडान अनुमतिका लागि भारतीय दूतावासले मंगलबारमात्र नागरिक उड्डयन मन्त्रालयलसँग अनुमति मागेको थियो र मन्त्रालयले उही दिन परराष्ट्रलाई पठाएको थियो । बुधबारको उडानका लागि फास्ट ट्रयाक जस्तै गरेर उही दिन अनुमति दिएको थियो । स्रोत भन्छ कुटनीतिक उडानका लागि अनुमति लिएको भए पनि विमानमा को-को हुनेछन् भन्नेबारे न मन्त्रालयले चासो राख्यो न दूतावासले नै जानकारी दियो ।
दुई देशबीचको नियमित उडान बन्द, हतार हतार कुटनीतिक अनुमतिको लागि आग्रह र तुरुन्तै अनुमति प्रदान त्यो पनि वायु सेनाको जहाज । ‘कमनसेन्स’ लगाउँदा पनि कुनै न कुनै खेल हुँदैछ भन्ने बुझ्न सबैलाई सहज भयो । यसो त नेपालमा भारतबाट सुटुक्क गुप्तचर निकायका हाकिम र कुटनीतिक मानिस बेला बेला आउनु नौलो होइन। कहिले औपचारिक भ्रमण पनि हुन्छन् । लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा नेपालले जारी गरेपछि दुई देशबीचको सम्वन्धमा चिसोपन देखिएको छ । नेपालले सीमा समस्याबारे भारतसँग बार्ताको प्रयास गरेपनि त्यो सफल भइरहेको छैन । उता भारत र चीनको पनि सीमा समस्या यतिनै बेला अरु बढेर गइरहेको छ । विभिन्न क्षेत्रमा दुई देशका सेनाबीच ज्यानै जाने गरी झडप पनि भए । यति नै बेला रअ प्रमुख नेपाल आएका हुन् । तर बुधबारको भ्रमण अली फरक थियो।
भारतीय गुप्तचर निकाय ‘रिसर्च एण्ड एनालाइसिस वीङ’ (रअ) का प्रमुख सामन्तकुमार गोयल भारतीय वायु सेनाको विमान लिएर काठमाडौं उत्रिएका थिए । भ्रमण र परिचय यति गोप्य राखिएको थियो कि विमानस्थलमा उनीहरुबारे सोध खोजसमेत गरिएन । न उनीहरुको पासपोर्ट स्क्यान गरियो न वायो म्याट्रिक्स लिइयो । यसको अर्थ थियो उनीहरुको भ्रमणको रेकर्ड नरहोस् । अर्थात यो पूर्णरुपमा ‘खुफिया भ्रमण थियो ।’गोयल आफ्नो भ्रमण सकेर विहिबार विहान १० बजे भारत फर्के । २१ घण्टा नेपाल रहेका उनले यहाँ के के गरे भन्ने सबै कुरा खुलिसकेको छैन । होटल द्वारिकाजमा उनलाई बसोवासको व्यवस्था भारतीय दूतावासले मिलाएको थियो । उनको भ्रमणबारे भारतीय दूतावासले औपचारिकरुपमा केही भनेको छैन । मिडियाहरुमा समाचार आउन थालेपछि भने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली र गोयलबीच भेट भएको भन्दै प्रेस नोट जारी गरे । भेटका क्रममा उनले नेपाल भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राखेको नोटमा उल्लेख छ । पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले आफुहरुले गोयललाई नभेटेको बताएका छन् । यता कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई भेटेका समाचार आए पनि कांग्रेसले पनि त्यसलाई खण्डन गरेको छ।
भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणेको नेपाल भ्रमण तय भइसकेको समयमा गोयल नेपाल आएका हुन् । तर एउटा कुरा के सहजै अनुमान गर्न सकिन्छ भने सेनापतिको भ्रमण अघि कुनै चाँजो मिलाउन रअको प्रमुख आउँदैनन् । किन भने खुफिया एजेन्सी ‘रअ’ ले आफुलाई आफ्ना मिसनका कारण विशिष्ट सोच्ने गर्छ । र अर्को कुरा नेपाल सरकार र प्रधानमन्त्रीको जानकरी विना पनि त्यो लेवलको मानिस छिमेकी देश आउँदैन । राष्ट्रिय अनुसन्धानका एक पूर्व अधिकारी भन्छन् ‘रअ’ को हाकिम छिमेकमा जासुसी गर्न आउँदैन ‘कुरा मिलाउन’ आउने गर्छ । लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा नेपालले जारी गरेपछि दुई देशबीचको सम्वन्धमा चिसोपन देखिएको छ । नेपालले सीमा समस्याबारे भारतसँग बार्ताको प्रयास गरेपनि त्यो सफल भइरहेको छैन । उता भारत र चीनको पनि सीमा समस्या यतिनै बेला अरु बढेर गइरहेको छ । विभिन्न क्षेत्रमा दुई देशका सेनाबीच ज्यानै जाने गरी झडप पनि भए । यति नै बेला रअ प्रमुख नेपाल आएका हुन् ।
नेपालको आन्तरिक राजनीतिमा भारतीय एजेन्सीको प्रभाव कम भइरहेको र नेपाल चीन तर्फ ढल्कन सक्ने डर उनीहरुलाई छ नै । नेपाल र चीनबीच जोडिएको सीमाको भुराजनीतिक अर्थ छ । यसले भारतलाई झस्काउने गर्छ। अर्को तर्फ क्षेत्रीय शक्ति भारतसँग सम्वन्ध सुधार नगरि सहज हुँदैन भन्ने प्रधानन्त्रीले पनि बुझेका छन । यी दुई फ्याक्टरले गोयल नेपाल आएको हुनसक्ने एक कुटनीतिज्ञ बताउँछन् । अर्को नेपालको आन्तरिक राजनीतिबारे पनि उसले चासो राखेको पाइन्छ । यहाँको राजनीतिलाई भारतले आफु अनुकुल बनाउन प्रयास गरिरहन्छ ।




