बुटवल । रुपन्देहीको बुटवल लामो समयपछि शुक्रबार एकाएक तात्यो । बुटवलका विभिन्न स्थानमा नेपाल विद्यार्थी संघले टायर बालेर विरोध प्रदर्शन गरे । प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङ प्रस्ताव गरेको विरोधमा बुटवलमा विरोध सुरु भएको हो । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा आन्तिरक मामिला तथा कानूनमन्त्री कुल प्रसाद केसी ले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र र नाम लुम्बिनीका लागि प्रस्ताव गरेका हुन् ।
कोरोना कहर र लकडाउनले करिब ७ महिनामा दोस्रो पटक बुटवलमा विरोधको ज्वारभाटानै देखिने संकेत छ । यसअघि सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि १० अर्ब खर्च गरेको विषयमा सयौं युवाहरुले सडक र सामाजिक सञ्जालबाट विरोध गर्दै गर्मीयामा पनि थप गर्मागर्मी बनाएका थिए ।
यस अघि केपीशर्मा ओली र पुष्पकमल दाहालबीच दाङमा प्रदेश राजधानी बनाउने सहमति जुटेपछि प्रदेश सरकारले निर्णय गरेको हो । नेकपाका प्रदेश– ५ इन्चार्ज समेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले दाङमा राजधानी बनाउनका लागि लबिङ गरिरहनु भएको थियो । उहाँ दाङकै स्थायी बासिन्दा हनुहुन्छ ।




