काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदको विशेष अधिवेशन बोलाएर ओली सरकारलाई ‘तह’ लगाउनुपर्ने बताएका छन् । उनले कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले सोमबार आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् ।
सभापति देउवाले भने, ओली सरकारले ठूलो भ्रष्टाचार गरेर जथाभावी गरिरहेको छ। ठूला भ्रष्टाचार काण्डका विषयमा आवाज उठाउनेहरुलाई थर्काएर, तर्साउने काम सरकारले गरेको छ । ‘यति ठूलो भ्रष्टाचार भइरहेको छ तर, भ्रष्टाचार भयो भनेर भन्न पनि नपाइने भयो,’ उनले भने,‘ भ्रष्टाचार भयो भन्नेहरुलाई सरकारले थर्काएर, तर्साएर राख्ने काम गरिरहेको छ।’
सभापति देउवाले कम्युनिष्ट सरकारले जनतालाई दुःखमात्रै दिने काम गरेको बताए। ‘कम्युनिष्ट सरकारले जनतालाई दुःख दिइरहेको छ । हाम्रा साथीभाइलाई धरपकड गर्ने काम गरिएको छ,’ उनले भने।
उनले कांग्रेस सरकारका पालामा आफूहरुले कसैलाई दुःख नदिएको बताए। उनले भने, ‘हामी सरकारमा हुँदै कसैलाई दुःख दिएका थिएनौं, ‘अहिले कर्मचारीलाई समेत सरकारले दुःख दिइरहेको छ ।’




