ताजा समाचार

काठे लोकदोहरीमा विशाखाको तहल्का

कला, गला र सौन्दर्यले भरिपूर्ण उदीयमान काँठे लोकदोहोरी गायिकाको नाम हो विशाखा गिरी । सिन्धुपाल्चोकको मेलम्चीमा जन्मिएकी गिरी आफ्नो गायन क्षमता र स्वरलाई ईश्वरीय बरदान ठान्दछिन् । प्राकृतिक स्वरकी धनी गिरीले संगीत भने सिकेकी छैनन् । उनै गिरीसँग संकल्प खबरका लागि कालिका महतले गरेको कुराकानी :

तपाईंको थातथलो कहाँ हो नि ?

मेरो जन्म सिन्धुपालान्चोकको मेलम्चीमा भएको हो । कक्षा ५ सम्म मैले सिन्धुपाल्चोकमै पढेँ । त्यसपछिको पढाइ काठमाडौंमा भयो । म सानैदेखि गीतसंगीतप्रति अत्यन्तै रुची राख्थेँ । स्कुलमा पनि नाच्न, गाउँन मन पराउँथे ।

व्यवसायिक रुपले संगीत क्षेत्रमा लागेको कति भयो ?

व्यवसायिक रुपले संगीत क्षेत्रमा लागेको तीन वर्ष भयो ।

कसरी गाउन क्षेत्रमा आकर्षित हुन भयाे ?

म आफै आधुनिक गीतहरु लेख्छु । त्यो गीत लेखनपछि विष्णु तामाङ दाइ जो एरेन्जर हुनुहुन्छ । उहाँको सम्पर्कमा पुगेँ । अनि विष्णु दाइले तिमीले आधुनिक गीत लेखेपनि दोहोरी राम्रो गाउँन सक्नेरहेछौं । अनलाइन दोहोरीमा गाउँ भनेर जोडिदिनुभयो । त्यहाँबाट म दोहोरीतिर छिरेकी हुँ ।

अनि दोहोरी साँझमा गाउन कहिलेदेखि सुरु गर्नुभयो ?

मैले दोहोरी साँझमा व्यवसायिक रुपले गाउन थालेको २०७५ माघबाट हो ।

पहिला कुन दोहोरीमा गाउनुभयो ?

मैले पहिला विष्णु तामाङ दाइकै थ्रुबाट नयाँ बसपार्कस्थित ‘नाचौं’ दोहोरीबाट मेरो लोकदोहोरी गायनले आपैचारिक मञ्च पायो । त्यहाँ दुई महिना काम गरेँ । त्यसपछि सुनधारामा गरिरहेकी थिएँ । कोभिडले गर्दा ठप्प भएको छ ।

अब दोहोरी साँझलगायत कला क्षेत्रपनि ठप्पै छन् दिनचर्य कसरी चलेको छ ?

कोभिडको समस्याले संगीतक्षेत्र चौपट भएपछि गाउँतिर गएकी थिएँ । भरखरै काठमाडौं आएकी छु । अहिले खासै केही गरेकी छैन, त्यत्तिकै बस्ने काम भएको छ ।

संगीत क्षेत्रमा काम गर्ने मान्छे गाउँमा बस्न गाह्रो भएन ?

सानैदेखि काठमाडौंमा बस्ने भएकाले मलाई त्यति घरायसी काम गर्न त आउँदैन । तर, यसपालि खेत रोपियो, घाँस काटियो, कहिलेकाही घरायसी काम गर्न रमाइलो हुँदो रहेछ ।

घाँस काट्न वनमा पनि जानुभयो ?

वनमै त गइएन, खेतमा काटियो । मलाई गाउँघरको काम गर्न मन त लाग्छ । तर, सानैदेखि त्यति धेरै नगरेकाले अलि गाह्रो हुँदोरहेछ । गाउँतिरको बाटो हिड्न पनि त्यति राम्रो आउँदैन ।

संगीत कहाँ सिक्नुभयो ?

मैले अहिलेसम्म संगीत सिकेको छैन । जे–जति जानेकी छु, त्यो मैले ममीबाट सिकेको हो । मेरो ममी गाउँमा सत्यनारायणको पूजा, मेलापातामा मीठो स्वरमा गीत गाउनुहुन्थ्यो । म पनि उहाँसँगै ताली बजाएर, स्वर मिसाएर गाउन तम्सिन्थें । त्यस्तो हुँदाहुँदै मेरो पनि स्वर राम्रो भएकाले म पनि गायनतिर आकर्षित भएकी हुँ ।

ममी चाहीं औपचारिक गायिका बन्नुभएन ?

त्योबेला यो क्षेत्रमा आउन त्यति सजिलो पनि थिएन । अहिलेको जस्तो यातायातको सुविधा पनि थिएन । त्यो काम गाउँमा सम्भव थिएन । काठमाडौं आउन त्यतिबेला गाह्रो थियो । त्यही भएर उहाँले आफ्नो प्रतिभालाई गुम्स्याए राख्न वाध्य हुनुपर्याे । अहिलेको जस्तो सुविधा भए मेरो ममी पनि यो क्षेत्रमा स्थापित हुनुहुन्थ्यो होला ।

तपाईंले चाहीं आफ्नो प्रतिभालाई गुम्सिन दिनुभएन ?

मैले ईश्वरीय वरदान स्वरुप प्राप्त प्रतिभालाई गुम्स्याएर राख्न चाहिन । प्रतिभा, इच्छाशक्ति र नियमित साधनका कारण त्यो प्रकृति प्रदत्त कलालाई स्रोतामाझ पस्कँने मौका पाएकी छु । यो समयको उपयोगले पनि हो ।

स्वस्फूर्त गायिका बन्नुभयो, ताल, सुर सिक्नुपरेन ?

काँठे दोहोरी त म पहिलादेखि त्ययित्तकै गाउँथे । पछि स्टुडियोमा गाउने बेलामा स्केल मिलेन, स्केल मिलेन भन्थे । म चाहीं यो स्केल कसरी मिल्ने रहेछ ? न बेस्सरी चिच्याएर पो मिल्ने हो कि भन्थेँ । त्यो स्केल नबुझेर मलाई एदमै गाह्रो हुन्थ्यो । त्यो स्केल बुझ्न एक-दुई महिनै लाग्यो ।

आफ्नै एल्बम कति छन् ?
अहिले आफ्नै एल्बम दुईवटा बजारमै छन् । ती एल्बम निकाल्न किरण गौतमसँग सहकार्य गरेकी थिएँ ।

तपाईंको पहिलो एल्बम कुन हो ?

‘भीरको मौरी घरकैको बिरालो’ मेरो एल्बम हो ।

यो गीतको टुक्का सुनाउनुस् न ?

केटाः हे… सब साथीको बिहे भयो, थाल्यो मनले रेट्न,
एउटी भएकी मायालु पनि नआइदिने भेटन्,
छैन भन्नु साच्चै माया नभएको भए,
अभागीका हरर सबै हे ..राजै सहिद हुँदै गए,
हालें भैm’भो झर्कोको रेखी.. बैगुनीलाई देखेको दिनदेखि…
भीरको मौरी घरैको बिरालो, यो ज्यान लौनि राजै मयााकै पिरालो ।।
केटी : मान्छे का’छ यहाँसँगै हिन्छ, आँदाभन्दा राजै गलेनी देखिन्छ,
भीरको मौरी घरैको बिरालो, यो ज्यान लौनि राजै मायाकै पिरालो ।।
यस्तै शब्दहरु छन् यो गीतमा ।

पछिल्लो गीत कुन हो ?

यसपछि सुरेश लामासँग बलबहादुर वाइवाको शब्द र विश्व तामाङ दाइको लयमा अर्को गीत गरेकी छु । ‘फस्या माया हुन कि नहुन, दिनलाई घाम, रातलाई जुन’ । यो गीत पछिल्लो समय खिमा रोक्काले त्यही मिल्नेगरी निकाल्नुभएको छ । यसमा कपिराइटिङको कुरा हुन्छ कि हुँदैन । लयदेखि सबै मिल्छ मैले पहिला निकालेँ अनि उहाँले पश्चिमेली भाका ठ्याक्कै मिल्नेगरी निकाल्नुभएको छ ।

गायन क्षेत्रमा भविश्य देख्नु हुन्छ ?

मेरो स्वर र स्वास्थ्य साथ दिँदासम्म गायन क्षेत्र छोड्दिँन ।

विवाह गर्नुभयो ?

अहिले बिबाहको बारेमा सोचेकै छैन । करिअर बनाउनमै व्यस्त छु ।

बेला भयो भन्ने सोचाइ छैन ?
अहिले बेला भएको छैन । ‘हतारमा निर्णय गरेर फूर्सदमा पछुताउनु भन्दा बिवाह भन्ने कुरा सोचेर गरेको राम्रो ।

बिवाहपछि कलाक्षेत्रमा खुल्न गाह्रो हुन्न ?

अहिलेसम्म हाम्रो सामाजिक बन्धन छ । कलाक्षेत्रमा जोसँग पनि हाँस्नुबोल्नुपर्छ । त्यो विवाह गरिसकेपछि अप्ठ्यारो हुन्छ । कसैको श्रीमती, कसैको बुहारी, कसैको आमा भइसकेपछि अलिकति फरक हुन्छ । फेरि सबैको परिवार बुझ्ने हुनुहुन्न ।

यति राम्री हुनुहुन्छ लभ गर्नेको ताँति लागेको छैन ?

खोई, त्यस्तो मैले देख्ने गरी लभ प्रस्ताव राख्न आउने हिम्मत गरेका छैनन् । हामी त कलाकार सबैसँग बोल्नुहास्नुपर्छ । त्योभन्दा बाहेक थाहा छैन ।

बिहेको प्रस्ताव राख्ने टन्नै छन् ?

त्यस्तो औधी टन्नै चाहीं नभनौं । दुई, चार जना भेटेकी छु ।

विवाह नगरेपनि ब्वाइ फ्रेन्ड त होला नि ?

मेरो ब्वाइ फ्रेन्ड पनि छैन । बनाउने सोच पनि छैन । नारी भएर जन्मिनेबित्तै ब्वाइ फ्रेन्ड बनाउनुपर्ने विवाह गरिहाल्नुपर्ने भन्ने हुँदैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *