काठमाडौं । प्रधानमनत्री केपी शर्मा ओलीले नेकपाभित्रको विवाद सुल्झेको बताइरहेका बेला उपाध्यक्ष बामदेव गौतमले रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा आफुलाई मनोनित गर्नुपर्ने अभिव्यक्ति दिएर नयाँ बखेडा निकालेपछि त्यसले सत्तारुढ दलभित्र तरंग ल्याएको छ ।
ओलीका स्वेच्छाचारी गतिबिधी विरुद्ध संघर्ष गर्दै आईरहेका प्रचण्ड–नेपाल–खनाल समुहमा वामदेवको सो अभिव्यक्तिले नयाँ उर्जा प्राप्त गरेको छ तर यो सार्थक मोडमा पुग्न भने भ्याएको छैन । उपाध्यक्ष गौतमले पार्टी सचिवालयको पूर्व निर्णय अनुसार राष्ट्रिय सभाको रिक्त सदस्य पदमा आफुलाई लैजानु पर्ने अडान राखेर श्रीमति तुलसा थापा गौतमलाई मन्त्री बनाउन बार्गेनिङ गरेको आरोप पनि लागेको छ । ‘बामदेव कमरेडको बोलीको भर छैन्, उहाँले श्रीमतिलाई मन्त्री बनाउन राष्ट्रिय सभाको तुरुप फालेको पनि हुन सक्छ, यद्यपी भदौ १८ गतेसम्म उहाँको अडान के हुन्छ हेरौं’, नेकपा उच्च स्रोतले भन्यो । यस अघि नै ओलीले गौतम पत्नी तुलसा थापालाई आकर्षक मन्त्रालय दिने प्रस्ताव गरिसकेका थिए । तर पछिल्लो समय ओलीले आफुलाई पुनः दम्भी रुपमा प्रस्तुत गरेकाले मन्त्री नबनाउने पो हुन की भन्ने आशंका लागेर गौतमले राष्ट्रिय सभाको तुरुप फालेको बताइन्छ ।
यद्यपी, कार्यदल सदस्य समेत रहेका जनार्दन शर्माले गौतमलाई उप प्रधानसहित अर्थमन्त्री बनाउने बताइएको छन् । अर्थमन्त्री डा। युवराज खतिवडाको मन्त्री पद भदौ २० गते सकिँदैछ । यस अघि मन्त्री बनेपछि डा.खतिवडालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरि राष्ट्रिय सभामा लगिएको थियो । राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल २०७६ फागुन २० गते सकिएको थियो । रिक्त रहेको पदमा पुनः डा.खतिवडालाई नै नियुक्त गर्न प्रधानमन्त्री ओली चाहान्थे । तर पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेपछि नेकपामा विवादले नयाँ मोड लिएको थियो । त्यसै क्रममा डा। खतिवडाले राजीनामा गरे र भोली पल्टै ६ महिनाका लागि पुनः अर्थमन्त्रीको सपथ लिएका थिए ।




