काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले पार्टीभित्र उठेको विवाद समाधान गर्न नेताहरुलाई आग्रह गरेका छन् । उनीहरुले एकतालाई जोगाउन पार्टीभित्र देखिएको विवाद समाधानको क्रममा नेताहरुलाई दबाब दिने उदेश्यले आजै पत्रकार सम्मेलन समेत गर्ने भएका छन् ।
पार्टीभित्रको विवाद सघन बनिरहेका बेला एकताको पक्षमा उभिने प्रतिबद्धतासहित पत्रकार सम्मेलन गर्न लागेको सांसद यज्ञराज सुनुवारले बताए । तत्कालिन माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा दिउँसो पत्रकार सम्मेलनमा पार्टी एकताको रक्षा र सुदृढीकरणका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरिने कार्यक्रम रहेको सांसद सुनुवारले जानकारी दिए ।
“एकतालाई सुदृढ तुल्याउने र वर्तमानमा जेजस्ता चुनौती देखिएका छन्, पार्टीभित्र देखा परेका समस्या समाधानका लागि सांसदका हैसियतले समाधान गर्न सामूहिक प्रतिबद्धता पत्र तयार पारेका छौं, त्यो सार्वजनिक गर्ने कार्यक्रम हो,” सुनुवारले भने । उनका अनुसार पत्रकार सम्मेलनमा धेरै जसो युवा नेताहरु रहेनछन् । यसअघि पनि महिला तथा सामाजकल्याणमन्त्री पार्वत गुरुंगको कार्यकक्षमा यस्तै भेला आयोजना गरिएको थियो ।
पार्टी एकताको २५ महिना बित्दा पनि नेकपाको संसदीय दलको कार्यालय एक भएको छैन । साविक माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रमुख सचेतक देव गुरूङको कार्यकक्ष छ । पार्टी एकता सङ्कटमा परेका बेला सन्देश प्रवाह गर्न पत्रकार सम्मेलनको थलो यसैलाई बनाइएको सांसदहरूले बताएका छन् ।




