काठमाडौं । कोभिड–१९ काठमाडौं उपत्यका जोखिम कम गर्न १५ दिनका लागि ‘सट डाउन’ गरिने भएको छ । आगामी आइतबारदेखि लागू हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको निर्णय गरेको हो । बैंठकले आइतबारदेखि लागु हुनेगरी १५ दिनको लागि सट डाउनको निर्णय गरेको हो ।
सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए ।
बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।




