विषय प्रवेश :
इक उम्र कट गई है तेरे इन्तजार में ।
ऐसे भी हैं कि कट न सकी जिसने एक रात ।।
-फिराग गोरखपुरी, फिराग गोरखपुरी पुस्तकबाट ।
चहुँ दिश फूल फुल्यो फूलले बास दीयो ।
मन भ्रमरहरूको त्यस बखत खैचि लीयो ।।
– कविवर मोतीराम भट्टको जीवनीबाट ।
पत्थर नै गाल्न के के गर्नुपर्ला ।
पानीलाई बाल्न के के गर्नुपर्ला ।।
-भगवती खनाल ‘सुनाखरी’, ‘माटो बोल्छ’ बाट ।
आठौँ नवौँ शताब्दीतिर परसियन कविताले संसारलाई प्रभाव पारेको थियो । पछि आएर बाह्रौँ शताब्दीतिर भारतीय परम्परामा साथ दिने कविताको मुहानले नयाँ रूप लियो । धार्मिक मान्यतालाई भन्दा साहित्यिक प्रभुत्वलाई प्रधान्यता दिएर हिन्दू र मुस्लिम दुवैलाई भारतीयहरूले महत्व दिए । परसियन कवि तथा इरानियन कविहरूको देनले भित्र्याएको साहित्यले भारतमा आइपुग्दा राम्रो मलजल पाउन थाल्यो । परसियन, अफगानी तथा इरानियनको प्रभावशाही गतिले उर्दूको परम्परा विकसित हुन पुग्यो ।
दसौँ शताब्दीको इरानियन व्यक्तित्वले Abusaid लाई पहिले परसियन कविको रूपमा मर्यादित गर्न पुगे । रहस्यमय विषयवस्तुको आधार शिला तयार पार्न सक्ने क्षमता उनमा थियो । इरानमा एघारौँ शताब्दीको मध्य भागमा उमर खैयामको व्यक्तित्वलाई फिजराल्डले बुझेर नै उनका कवितालाई अनुवाद गर्न पुगें ।
तेह्रौँ शताब्दीतिर खुसरीले एउटा बाटो तयार पार्ने काम गरें । रूमी तेह्रौँ, हाफिर चौधौँ र सादी बाह्रौँ शताब्दीका प्रख्यात कवि थिए । पर्सियन, इरानी,उर्दू, साहित्यको जंगमले भारती साहित्यमा ठूलो भूमिका खेल्ने मौका पायो । फिजराल्डले उमर खैयामको कवितालाई छन्दमा ढालेर एउटा विशेष रूप दिएकोले नै उमर खैयाम विश्व प्रसिद्ध हुन पुगे । फिजराल्डपछि भारतमा विभिन्न खालका कविहरूको देखासिकीको लहर बढी हाल्यो ।
तेह्रौँ शताब्दीका खुसरी भारतका ठूला परसियन कवि थिए । जसले कविताको क्षेत्रमा एउटा नयाँ बाटो देखाई दिए । यसरी सुरु भएको परम्परा विकसित हुँदै गयो । भारतीय परम्परामा ठूला ठूला व्यक्ति जन्मिए । परसियन तथा इरानीहरूको प्रभाव स्वरूप विभिन्न मोडले साहित्यमा नयाँ नयाँ स्वर देखा परे । जे जस्तो अघि बढे पनि एघारौँ शताब्दीका प्रमुख व्यक्तित्व उमर खैयामको कवितालाई उन्नाइसौँ शताब्दीतिर फिजराल्डले अनुवाद गरेर बाहिर निकालेपछि पश्चिमी जगत्मा हल्ला खल्ला मच्चियो । कविताको भिन्दै रूप अहिलेसम्म पनि जिउँदो भएरै रहेको छ । विभिन्न विद्वानहरु भारतमा जन्मिए गजलको रूपमा देखा परे, सायरीको रूपमा देखा परे । नामको रूपमा देखा परे तर सबैको आधार उमर खैयामको रूवाईमाथि गरिएको अनुवाद नै अडेको छ । यस विषयमा भारतीय परम्पराले आफ्नो बौद्धिकताले परसियन, इरानीका साथै उर्दूको विकासका लागि ठूलो भूमिका खेल्न सफल भएको छ ।
उर्दूमा मुख्य रूपले भारतीहरूले लेखे पनि परसीयन तथा इरानीयनको गन्धले छोइ नै रह्यो । गालिब, इकवाल, मीरहरूले एउटा नयाँ जग खने । इकवालले भारतीय शैलीलाई नै प्राथमिकता दिए । एउटा महत्वपूर्ण पक्ष के हो भने इकवालले विभिन्न किसिमको शैली प्रयोग गरे । साथै समयलाई ध्यान दिएर नयाँ नयाँ बाटो अपनाउनु काम पनि गरे ।
साहित्यको माध्यम दिगो हुन पुग्यो र विकासको क्रम अघि बढ्न सफल भयो । परसियन साहित्यको प्रभाव उर्दू साहित्यमा पनि त्यक्तिकै मात्रामा पुगे तापनि आ–आफ्नो किसिमले नयाँ नयाँ विषयवस्तु र शैलीलाई अपनाउन पछि परेनन् । इरानीयनहरूले उमर खैयामको व्यक्तित्वलाई अघि सारेर आफ्नो प्रभुत्व खोज्ने काम पनि पछिल्लो समयमा सुरु गरिरहेका छन् ।
शैली र छन्दको रूप बस्न थाले हिन्दी साहित्यमा नयाँपन देखा पर्न थाल्यो । गजलको रूपमा बाँधिएका कवितालाई गजल भनिन थालियो । स्वास्नी मान्छेसँग कुराकानी भनिने गजल शैलीले एउटा नियमको आधारमा कविता लेखिनुपर्ने भयो ।
फिजराल्डले पनि नियम बनाएर उमर खैयामको कवितालाई रूवाइमा नामकरण गरे । गजलका दुई Couplet जोडेर चार लाइनको कवितामा ढालिदिए । हिन्दी कविहरूले फिजराल्डको रूवाई शैलीलाई बङ्ग्याएर त्यही रूपमा कविता लेख्न थाले । पहिलो र अन्य जुनसुकै Couplet जोड्ने बित्तिकै चार लाइनको कविता बन्न पुग्यो । नियम छैन । जति अक्षरमा लेखे पनि हुने भयो । स्वतन्त्र अभिव्यक्ति भनेर चिच्याउन थाले । तिनैको नक्कल नेपालीहरूले पनि फिजराल्डलाई मूल मानेर भारतीय कविहरूको अनुकरणमा जेजस्तो लेखे पनि हुने तरिका अपनाउन पुगे । एकातिर गजलको रूप फेरियो भने अर्कोतिर मुक्तक भन्दै गजलको बहरशैली अपनाउन थालियो । कहिले उमर खैयामको नाम लिन्छन् । कहिले हिन्दीका नाम चलेको मुक्तककारहरूको नक्कलमा आफ्नो प्रभुत्व जमाउन सफल भइरहेका छन् । गजल मुख्य रूपमा प्रेम र प्रणयलाई गम्भीर रूपमा हेर्छ । गजलमा अरेबिक, परसियन, इरानी, उर्दू हुँदै हिन्दीमा परिणत हुन पुग्यो ।
नेपाली गजलको इतिहास त्यति लामो छैन । संस्कृतको परम्परा र त्यसपछि त्यसैलाई आधार मानेर कविता लेख्ने चलन निस्कियो । संस्कृत साहित्यले नै प्रभाव पारेको थियो ।
छन्दलाई बढी जोड दिइएकोले लयात्मक कविताको रूप लिँदा केही प्रभाव अवश्य हुन पुग्यो । खास गरेर मोतीराम भट्टले चलाएको आन्दोलन हिन्दी परम्परा र भारतमा प्रभावित गजलले स्थान पाएको थियो । उर्दू र हिन्दीका विशेषज्ञ तथा भारतीय कविहरूको सङ्गतले आफ्नो स्थायित्व राख्न सफल भए ।
फिजराल्डको शैली हिन्दी कविहरूको प्रभावमा शृङ्गारिक मुक्तकहरूको साथै गजलसमेत नेपालमा भित्र्याउने काम गरे । उमर खैयामको प्रभाव राम्रोसँग परेको थियो । मोतीरामले आफ्नै किसिमको मण्डली स्थापना गर्नु र जमघट गराएर छन्दबद्ध रूपमा लिएको कवितामा रस घोल्न सक्नु मोतीराम भट्टको विशेषता हो ।
तर आधार उर्दू र हिन्दी नै बनाए मोतीरामले । परसियन प्रभाव परेको हिन्दीका कविहरूसँग मोतीराम भट्टको उठबस थियो । मोती मण्डलीको नेतृत्व लिएका मोतीरामको प्रभाव तिनीहरूमा पर्नु स्वभाविकै हो । मोतिरामले वि.सं.१९३८ देखि चलाएको अभियानलाई नै आधार मानेर काल विभाजन गर्नेहरू पनि छन् । माध्यामिक काललाई दुई भाकमा बाँड्ने पनि छन् । वि.सं. १९३८ देखि वि.सं. १९६० अर्थात् मोतीराम र उनका मण्डलीदेखि (प्रेमामृत वचन) सम्मका कवि तथा नाटककार पहलमानसिंह स्वाँरसम्मको काल ।
वि.सं. १९६१ देखिको अभियान शम्भुप्रसाद ढुङ्गेलका नेतृत्वमा अघि बढेको देखिन्छ । लेखनाथ, चक्रपाणि चालिसे, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटाजस्ताको संलग्नता देखिन्छ त्यतिखेर । जुन समयलाई शृङ्गारधाराको मध्ययुग मानियो । गजल र छन्द कविताले लेराएका चहलपहल व्यापक देखियो । १९६३ मा निस्केको पहलमान स्वाँरको नाटक प्रसिद्धि पायो । यही कालमा सुक्ति सिन्धु (१९७३) र बालकृष्ण समको नाटक १९८६ ले महत्वपूर्ण भूमिका खेलेको छ । माध्यामिक कालको अन्त्य १९८६ मा गएर टुङ्गिन्छ । १९८६ देखि २००७ सम्मको अवस्था मोतीमण्डलीपछिको गजल मोडलाई अघि बढाउने काम भीमनिधि तिवारीबाट भयो ।
भीमनिधि तिवारीले आठ नौ वर्षको उमेरदेखि गजल लेख्न सुरु गरे । उनको गजलमा सैद्धान्तिक ज्ञान थियो । वि.सं. १९९३ मा एक सय दुई थान गजलहरूको सङ्ग्रहको रूपमा ‘बयासी र बीस गजल मेरी’ निकाले । उनले मोतीराम भट्टको गजल लेखन शैलीलाई पछ्याएको देखिन्छ । यसरी उनले शिथिल हुन लागेको गजललाई मलजल गर्ने काम गरे ।
माध्यामिक कालका अर्का प्रतिभा थिए– उपेन्द्रबहादुर जिगर । उनले गजलका संरचनागत मान्यतालाई राम्ररी निर्वाह गरेका थिए । वि.सं. १९९६ मा ‘एक सय एक गजल’ नामक गजल सङ्ग्रह उनको प्रकाशन भयो ।
नेपालका सबैले त्यही भारतीय परम्पराले सिर्जना गरेको परिवेशलाई नै केन्द्रविन्दु बनाएर गजल लेखे । सबै जनालाई एक रूपमा बाँध्ने काम फिजराल्डले अनुवाद गरेको उमर खैयामको रूवाई नै थियो । रूप बदल्ने र मोड्ने क्रम मात्र भयो । २००७ पछि गजलको रूप फे-यो । उमर खैयामको ख्याती नेपालमा खूब भयो । नेपालीमा धेरैले अनुवाद गर्न पुगेँ । नारायणप्रसाद बासकोटाले अभियान चलाए । शङ्कर लामिछानेको प्रभावमा परेका कविहरूले मुक्तकीय रूपमा उमर खैयाम शैली अपनाए । उमर खैयामको दूइवटा couplet जोडेर चार लाइनको कविता फिजराल्डले जसरी बनाएका थिए । त्यसैको अनुकरणमा मुक्तक लेखिन थाल्यो । गजलको राम्रोसित विकसित हुन सकेन । नियममा बाँढिनुपर्ने लेखन गाह्रो मान्नेहरूले बिस्तारै छाड्दै गए । गजललाई महत्व दिनेहरूले गजलको विकृत रूप मुक्तकमा मिसाए अर्थात् ‘बहर’ प्रयोग गर्दा फिजराल्डलाई बदनाम गर्न पुगे । स्वतन्त्रताको नाममा जुनसुकै लाइनमा जति अक्षर राख्ने पनि हुने अवस्थामा पु-याए ।
भारतीय लेखनमा पनि विभिन्न मोड आए पनि एउटा सैद्धान्तिक रूपमा अघि बढेका छन् । उमर खैयामको रूवाईबाट प्रभावित भारतीय व्यक्तित्व हरिवंश राय बच्चनले रूवाई शैलीमा आफ्नो पन आफ्नै तरिकाले दिन सफल भएकाले नै उनको अस्तित्वले विश्वसाहित्यमा प्रभाव पार्न सफल भयो । फिजराल्ड शैलीमा पनि उनले लेखे– त्यस्तै भारतीय गजलकारहरूले परम्परागत शैलीमा अलि परिवर्तनले गजलको विकास गरिरहेकोले अझै गजलको महत्व बढी रहेछ । नाम चलेका भारतीय गजलकारले फिजराल्ड शैलीमा पनि गजल लेखेका छन् । फिजराल्डले प्रत्येक लाइनमा १६ अक्षर राख्ने र तेस्रो लाइनको अगाडि अलिकति ठाउँ छाडेर कविता लेख्ने नियम बनाएका छन् ।
वि.सं.२००७ पछि वच्चन काठमाडौँमा आए । प्रभावशाली व्यक्तित्वको प्रदर्शन गर्न सफल भए । अध्ययन नभएकाहरूले बुझ्न समय लाग्यो । शङ्कर लामिछाने र अन्य विद्वान्हरूले नयाँ गोरेटो खन्ने काम गरे । त्यसमा नारायणप्रसाद बासकोटाको पनि सहकार्य थियो । भीमदर्शन रोका र शङ्कर लामिछानेले बढी मात्रामा अघि बढेकाले यो विकसित हुन पुग्यो । त्यसबेला वच्चनको प्रभावले मुक्तक लेख्ने र प्रकाशित गर्ने अभियान नै चलेको थियो ।
अठारौँ शताब्दीका गालीन, उन्नाइसौँ शताब्दीका इकवाल, अठारौँ शताब्दीका गुलाम अलि, तेह्रौँ शताब्दीको रूमी, चौधौँ शताब्दीको लक्षिकजस्ता व्यक्तिहरूले साहित्यलाई माथि उठाउने काम गरेका हुन् । यिनैको आधारमा नयाँ नयाँ शैली, सिद्धान्त तय हुन पुगेको हो ।
आधारशीला तयार पार्ने काममा यिनीहरूको ठूलो योगदान छ । बिर्सन नसकिने व्यक्तित्वको रूपमा रहेका यिनीहरूको कविता, गजल, मुक्तक आदिलाई विभिन्न नाममा नयाँपन दिएर लेखन प्रकृयालाई विश्वसम्म पु-याउने काम भइरहेकोछ ।
नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने सर्जकहरूको भीड नेपालमा दिनप्रति दिन थपिँदै छ । ती भीडमा मिसिन आएकी एक स्रष्टा हुन्– भगवती खनाल ‘सुनाखरी’ । उनले साहित्य विधातर्फ गीत, गजल र मुक्तकमा जोडदारले कलम चलाउँदै आइरहेकी छन् । उनले गजल मात्रै लेखिनन्– सिङ्गो कृति नै तयार पारिन् । जसको नाम दिइन् ‘माटो बोल्छ’ । यसभन्दा पहिले उनको ‘छुट्याइएका गुच्छाहरू’ गीतिसङ्ग्रह प्रकाशन भइसकेको हुँदा यो कृति दोस्रो हो । कृतिमा रहेका गजलहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित र अप्रकाशित गरी जम्मा एक सय एक थानका साथै अधिकांश गजल पाँच शेरमा लेखिएको छ । गजल लेख्दा पाँच देखि ११ शेरसम्म रहन्छ । दुईवटा पङ्क्तिको एउटा शेर हुन्छ । प्रायः जसो गजलहरूमा बिजोड शेर रहेको हुन्छ । गजल एउटा पद्यात्मक विधा हो । गजल नेपालको भूमिमा जन्मेको होइन । हुन त हाइकु, ताङ्का, सेदोका, मण्डा, मुक्तक, सिजो जस्ता पनि अन्य देशबाट हाम्रो देशमा आयतीत नै हो । तर पनि यी सबै विधालाई सम्मान गरिसक्यौँ । त्यसो त नेपाली साहित्यमा गजल विधाले महत्वपूर्ण भइसकेको छ । मोतीराम भट्टको युग वि.सं. १९४० लाई मान्ने हो भने नेपाली गजलले !#^ वर्ष पार गरिसकेको छ ।
यस सङ्ग्रहका गजलहरूमा अधिकांश प्रेम प्रणयका अभिव्यक्ति पाइन्छ । यस अतिरिक्त गजलमा राष्ट्रप्रेम, सामाजिक विकृति विसङ्गति, अन्याय अत्याचार, रिसराग, सुखदुःख, हर्ष, विस्मात, सङ्घर्ष, पीडा, संयोग, वियोग, कला संस्कृति, व्यङ्ग्य चेत, विचलन, गरिबी, अपराध, मनोवेदना, मानवीय मूल्य र मान्यता, कुण्ठा, शोषण, सहानुभूति जस्ता अनेक बिम्बहरूको सार्थक सृजना गरेकी छन् ।
वि.सं. २०४३ असार ७ मा स्थानीय विदुर नगरपालिका वडा नं. ८ क्यौरिनी, नुवाकोटमा पिता प्रेमबहादुर खनाल र माता मानकुमारी खनालको कोखबाट जन्मिएकी कवि खनाल पेसागत हिसाबले शिक्षण पेसामा आबद्ध छिन् । बँचेखुचेको समय साहित्य क्षेत्रमा दिलचश्वी राख्दै आएकी छन् । विभिन्न रचना वाचन कार्यक्रममा उनको मीठो स्वरमा गाएको गजलले सबैको मन खिच्दछ । उनी नुवाकोट साहित्य प्रतिष्ठान, महिला अभियान सञ्जाल, साहित्य समाज, सेतो गुराँसजस्ता सामाजिक संस्थामा आबद्ध रहेकी छन् । नेपाली वाङ्मयलाई समृद्ध तुल्याउन प्रयत्नशील भएर लागेकी भगवतीका गजलहरू शक्तिशाली देखिन्छ । रचना सृजना गर्नु सर्जकमा भर पर्ने कुरा हो । भन्ने नै हो भने रचना सिर्जना गर्नु जोखिम मोल्नु नै हो ।
उनले समसामयिक विषयवस्तु र आफ्नो मनमा उब्जिएका भावनाहरूलाई गजलमा शब्द संयोजन सम्प्रेप्य, चित्ताकर्षक र जीवन्त लाग्छ । थोरै शब्दमा धेरै भाव व्यक्त गर्न सकिन्छ गजलमा । पहिलो शेर र दोस्रो पङ्क्तिबीच पारस्परिक सम्बन्ध हुनै पर्छ । अझ मतला, मुक्ता, रदिफ, काफिया र तखल्लुस जस्ता गजलका आधारभूत व्याकरण हुन् । गजलमा रदिफको खासै आवश्यकता पर्दैन । रदिफबिना पनि गजल लेख्न सकिन्छ । तर काफियाबिना गजल हुँदैन तथापि यसका अलवा लय, भाव, अलङ्कार प्रतीक आदिको संयोजन गर्नुपर्दछ । यसप्रति गजलकार भगवती सफल भएको देखिन्छ ।
नेपाल भौगोलिक वनोटमा विविधता छ । हिमाल, पहाड र तराई विभाजित भूगोलको दृश्यको अनुभूतले मनलाई नै शान्त तुल्याउँछ । सेताम्ये देखिने हिमालका टाकुरा नेपाल र नेपालीको शिरझैँ अटल रहेको छ । बहुमूल्य जडीबुटी, दुर्लभ वन्यजन्तुका साथै प्रशस्तै मात्रामा पानीका स्रोत पाइने हिमाली भेग वरदान सावित भएको छ । दुर्गम र विकटताका कारणले गर्दा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन तुलनात्मक रूपमा कष्टकर देखिन्छ । पहाडी र तराई क्षेत्रमा भन्ने जमिनको सहजताले गर्दा जीवनक्रम सुखद देखिन्छ । हाम्रो देशको आम्दानीको प्रमुख स्रोतको रूपमा कृषिलाई नै लिइँदै आएको छ । वैज्ञानिक ढङ्गले उत्पादित उब्जनीको आयस्रोतमा वृद्धि भएको छ । पहाडी र तराई क्षेत्रका जमिन मोती फल्ने वरदान सावित भएको छ । पानी नै पानीले भरिभराउ हुने मुलुक नेपाल । पर्याप्त मात्रामा पानीको सदुपयोग हुन सकेको छैन । अधिकांश पानी बगेर अन्य देशमा गएको टुलुटुली हेर्न बाध्य भएका छौँ हामी । तसर्थ उनले राज्य पक्षलाई सोच्नबाध्य बनाउनका लागि गजल यस्तो लेखेका छन्:
हिमाल सब शिर भए ।
यो पहाड तक्दिर भए ।।
तराईको झन् के पीर ।
हो मोतीको मन्दिर भए ।।
विश्वको मानचित्रमा सानो मुलुक हो हाम्रो देश । अशिक्षा र गरिबीको कारणले मुलुकले सही ढङ्गले गति लिन सकेको छैन । गरिबी र बेरोजगारीका कारण नागरिकको आम्दानीका स्रोत नगण्य देखिन्छ । जीवन गुजारा चलाउन नै धौधौ परेको छ । यिनै दीनदुःखी र सोझा जनता नै अन्ततः राजनैतिक दलको ढाल बन्न बाध्य भएका छन् । अविकसित देश भएका कारण राजनीति स्थिर हुने करै भएन । राज्य सञ्चालन गर्न बनेका नियम कानुन सही रूपमा कार्वान्वयन हुन सकेको छैन । जनतामा आक्रोश त्यतिकै छ । च्याउसरि उम्रेका छन् राजनैतिक दल । व्यक्तिगत र पार्टीगत स्वार्थमा सीमित भएका छन् राजनीति गर्नेहरू । बोलेका कुरा पूरा गर्न नसक्ने राजनैतिक दलका नेता नै नागरिकहरूबाट तिरस्कृत हुन बाध्य भएका छन् भन्ने भाव:
नेताहरूले आश्वासन छरेर गएछन् ।
आस गर्दागर्दै लौ जनता मरेर गएछन् ।।
जति आए आफ्नै मात्र पेट भरेर गएछन् ।
मेरो मौलिक अधिकार नखोसिदेऊ भन्दा ।
हामी बाँचेको समाज साँघुरिएको छ चिन्तन–मननका हिसाबले । यही समाजमा व्याप्त विडम्बना र विसङ्गतिहरूलाई गजलमार्फतबाट यसरी अभिव्यक्त गर्न खोजिएको छ:
मान्छेले मान्छेलाई धेरै डसिरहेछ रे ।
मानवता दलदलमा खसिरहेछ रे ।।
उभिन खोज्नेलाई त लडाउँछन् सबैले
जो उभियो ऊ झन् जालमा फसिरहेछ रे ।।
मान्छेबीच मान्छे छान्नै गाह्रो छ ।
हेरे मानवता धान्नै गाह्रो छ ।।
सबै बाँचौँ भन्ने मन भेटिँदैन ।
एकलकाटे सोच मान्नै गाह्रो छ ।।
राज्य सबैको साझा हो । राज्यलाई दुख्दा सबै नागरिकलाई दुख्नुपर्छ । राज्यलाई सङ्कट परेको खण्डमा सबै जुट्नुपर्छ । राज्य अभिभावक हो । राज्यबाट सञ्चालित सबै समान र सर्वमान्य हुनुपर्दछ । जब राज्यबाट जनता शोषित हुन्छ तब विद्रोह गर्न बाध्य हुन्छन् जनताहरू । हो हाम्रो मुलुकमा पनि यस्तै घटनाक्रम जोडियो । निरङ्कुश पञ्चायती व्यवस्थाको जनभावना विपरीतको गतिविधिले गर्दा जनआन्दोलन २०४६ ले प्रजातन्त्र प्राप्त भयो । छोटो समयमा राजसंस्थाले निरङ्कुशता लाड्ने क्रम भयो । राजनैतिक दलहरू विरोधमा लाग्न थाले । हत्या हिंसाले प्रशय पायो । आफू-आफूबीच भएको द्वन्द्वले कोही कसैलाई फाइदा नहुने तसर्थ मिलेर नै समस्या सुल्झाउन सकिने भाव गजलमार्फत उहाँ यसरी व्यक्त गर्नुहुन्छ:
बाँच्ने कसरी देश दुखाएर हामी ।
यो आफ्नै शिर सब झुकाएर हामी ।।
सक्दैनौँ हामी जिउन कतै बेग्लाबेग्लै ।
नेपाली पहिचान लुकाएर हामी ।।
स्वतन्त्रताका लागि सहिदहरूले हाँसी हाँसी आफूलाई बलिदानी दिए । ती वीर सहिदको सपनामाथि कुठाराघात गर्न किञ्चित हुँदैन:
सहिदका बलिदान बेचेर खाँदैछन् ।
आफ्नै ती आँखा र कान बेचेर खाँदैछन् ।।
हिजो पुर्खाले दुःखले आर्जेको भूमि यो ।
आज गर्दै तानातान बेचेर खाँदैछन् ।।
फूल रोपेर घर सजाउनेहरूले ।
हेर फूलको बगान बेचेर खाँदैछन् ।।
जीवनको गति अनौठो हुन्छ । एक्लै बस्न सक्दिनन् उनी, बस्न खोजे पनि । उमेर र वातावरणले मानिसलाई कहाँ पु¥याउँछ भन्न सकिँदैन । त्यो हरियाली देखेर उनी मुग्ध हुन्छिन् । त्यही छायाँमा आफ्नो जीवन गति सरल किसिमले बगिरहोस् भन्ने कल्पना गर्न पनि बिर्सिंदिनन् उनी । कल्पना गर्दा गर्दै उनका सपनाहरू ताजा भएर आफ्नो आँखा अगाडि घुमिरहँदा उनको मन आत्तिन थाल्छ । आफूले सम्झेको मान्छेले आफैलाई धोका दिएको कुरा उनको आँखाअगाडि नाच्न थाल्छ । त्यतिले नपुगेर अझ आशामा चुर्लुम्म डुबाएर अझै आफ्नो प्रेम ताजा बनाउने सपना देख्छिन् ।
रात त्यति हो कहिले सम्झना दिलाउँछ कहिले झुन्ड्याएर निराशामा परिणत गरिदिन्छ । अनि सम्झना जिस्किँदै गरेका वाचाहरू र त्यसैमा अल्पिन थाल्छ । अनौठो लाग्ने जीवन सम्झना पुग्दा भगवती खनाल सुनाखरीको गजलहरूले यसरी झस्काऊन पुग्छ:
माया गर्दागर्दै कतै थाके नभन्नू नि ।
तिमी सहर मलाई पाखे नभन्नू नि ।।
जल्यो भने यो मुटु अझै तेल थपे ।
दिनरात शरीर बाल्ने चिन्न गाह्रो हुन्छ ।।
आराम गर्छन् आँखाले रात परेपछि ।
चोट थपी निद पूरा भगाउँछ छाड ।।
आगो हो त्यो पोल्छ भन्ने थाहा हुँदाहुँदै ।
फेरि छाती जलाउन लौ टाँस्ने कसोगरी ।।
मान्छे एक विवेकशील सजीव प्राणी हो । हाम्रा सामु पहाडजस्तै दैनिकी बनिदिन्छन्– आपत्तिहरू । माटो बोल्छ जस्ता पीरहरू लिएर बाँचुन्जेल समस्यासँग जुध्दै बाँचिन्छ कालान्तरसम्म । जिन्दगीको यात्रामा यावत कुरा सिकिन्छ आफ्नो परिवेशबाट । जित मात्रै होइन जिन्दगी । हारेर पनि जितिने खेलचक्र हो जिन्दगी । अनुभव बटुल्दै जाँदा आफूमा परिपक्कता भएको महसुस गर्न नपाउँदै मातेर जिस्काउँछन् पीरहरूले । यसरी जीवित रहनुको सार्थक तुल्याउनका लागि सचेत भइ लाग्नुपर्ने आभास दिन्छन्:
मुटु र धमनी जोगाउन मुश्किल छ ।
हरदिन गनी जोगाउन मुश्किल छ ।।
मेरो घरको ढोकै अगाडि सिमानामा ।
गरिब र धनी जोगाउन मुश्किल छ ।।
चोरैचोर दुनियाँमा मन आफैसँग ।
हो सज्जन बनी जोगाउन मुश्किल छ ।।
अभिव्यक्ति विभिन्न रूप र शैलीबाट निस्किन्छ । गजलको एउटा परम्परा साहित्यमा देखा प-यो । विभिन्न अवस्थामा विभिन्न रूपको गजल निस्किन थाल्दा यसका मोडहरू पनि फरक हुन थाले । कवितात्मक रूपमा लयपूर्ण रसिलो आवाजले मुग्ध पार्ने काम पनि भयो । प्रेम गर्ने वाहना, कुरा गर्ने तरिका र आफ्नो दिलभित्र लुकाएको प्रेमलाई सजिलैसँग खुलेर भन्ने अवस्था पनि तयार पार्ने काम गजलले सुरु ग-यो । नाच्दै, जिस्किँदा, टासिँदैको क्षणले जन्माएको प्रेमको टुसो पनि देखापर्छ । ओइलिएर जान पनि सक्छ । मौलाएर आकाश हुन पनि पुग्छ । गफ गर्दागर्दै के के हुन्छ ? के हो । आँखा निहुरिन सक्छ त्यही आँखाले आँसु पनि झर्न सक्छ:
मुटु लुटी फरार हुने दाउमा रै’छो क्यारे ।
तिमी पनि पुरानो त्यही घाउमा रै’छौ क्यारे ।।
विन्ती अब माया धेरै बढाउन छाड ।
घरीघरी मेरै बलि चढाउन छाड ।।
के के भयो पत्तै पाइनँ मैले ।
हिजोअस्तिभन्दा आज रमाइलो ।।
कृतिमा समावेश भएका प्रायः जसो गजलमा रदिफ र काफियाको संयोजन ठीक ढङ्गले भएका छन् । जस्तै ः
तिमी एउटा हात बन्नू, अर्को हात म बनुँला ।
फूलैफूल बने तिमी, हो फेरि पात म बनुँला ।।
गजलकार भगवती खनाल सुनाखरीले लज्जिद जिन्दगी भावमा गएर अन्ततः गजलको बिट मारेकी छन् । पक्कै पनि हामी बाँचेको समाज विचित्रको छ । भनिन्छ– बोल्नेको पिठो बिक्छ तर नबोल्नेको चामल बिक्दैन यहाँ । समाज र राष्ट्रको सर्वोपरी हित ठानी कर्मशील व्यक्तिको मान सम्मान हुन सकेको छैन । आफू जलेर अर्कालाई उज्यालो दिने व्यक्ति सधैँ जसो ओझेलमा परेका हुन्छन् । व्याप्त विकृति र विसङ्गतिले समाज नै घृणित बनाएको छ । स्वार्थको आलमा चुर्लुम डुब्नेहरूको रवैयाले गर्दा समाजलाई नै लज्जित तुल्याएको छ । त्यसैले समाज परिवर्तनका लागि असल र खराब छुट्याउन सक्नुपर्छ:
रात बितेर उज्यालो छायो ।
तर खै न्यानो घाम मिल्दैन ।।
जो माटोकै निम्ति म–यो यहाँ ।
उसलाई सलाम मिल्दैन ।।
अन्तमा, नवपुस्ताका क्रियाशील गजलकार भगवती खनाल ‘सुनाखरी’को नूतन गजलहरूको सङ्ग्रह ‘माटो बोल्छ’ राम्रो छ, पठनीय छ । त्रुटि छनैनै भन्ने चाहिँ होइन । उनको अघिल्लो कृतिले जस्तै यो कृतिले पूर्ण सफलता पाउने छ भन्ने कुरामा म विश्वस्त छु । सदैव भाषागत र नियमगत रूपमा गजलहरू लेखिँदै जाओस् । यस्तै र अझ सुन्दर गजलका कृतिका साथै अन्य साहित्यिक कृतिहरू प्रकाशन हुँदै जाओस् । उत्तरोत्तर प्रगति र शुभकामना !




