ताजा समाचार

नेकपा केन्द्रीय सदस्य ‘बुद्ध नेपालमै जन्मेका हुन’ चलचित्र हेर्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरुले दुई घण्टा चलचित्र हेरे विताउने भएका छन् । पाँच दिने केन्द्रीय कमिटीको बैठक चलिरहेको अवस्थामा उनीहरुलाई पार्टीले दुई घण्टा चलचित्र देखाउन लागेको हो । राष्ट्रिय सभागृहमा उनीहरुलाई बुद्ध नेपालमै जन्मेका हुन भन्ने चलचित्र देखाउन लागिएको हो । उनीहरुलाई विहान ११ बजेदेखि १ बजेसम्म सो चलचित्र देखाउन लागिएको नेकपा निकट स्रोतले जनाएको छ । ‘आज चलचित्र हेरपछि नेताहरुले जवाफ दिने कार्यक्रम रहेको छ’, एक केन्द्रीय सदस्यले भने ।

आज दिउसो कमिटी बैठकमा प्रस्तुत राजनीतिक सांगठनिक प्रतिवेदनमाथि सदस्यहरूले उठाएका प्रश्न तथा सुझावबारे आज नेतृत्वले जवाफ दिने तयारी छ । राष्ट्रियसभागृहमा १५ माघबाट जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको सांगठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलपश्चात सबै समूह नेताहरूले सुझाव प्रस्तुत गरिसकेका छन् । बैठकमा पेश गरिएका अजेण्डाहरूबारे छलफल गर्न १५ वटा समूह बनाइएको थियो । बैठकमा पार्टी, सरकार र नेतृत्वको आलोचनाको विषयसमेत उठेका छन्।
‘बैठकमा उठेका विषयमा आज अध्यक्ष पुष्पकमल दाहालले निष्कर्षसहितको जवाफ दिनुहुनेछ, प्रधानमन्त्रीज्यू पनि बैठकमा उपस्थित हुनुहुनेछ’, नेकपा प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । केन्द्रीय सदस्यहरुले सचिवालयका सदस्यहरुबाट जवाफ खोजे पनि सबै विषय समेटेर अध्यक्ष दाहालले त्यसको उत्तर दिनेगरी नेतृत्वको तयारी भइरहेको नेकपा स्रोतले जनायो । बैठक आजै सकिनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *