जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सम्मिलित वर्तमान सत्ता गठबन्धनले निरन्तरता पाउने दाबी गरेका छन् । सत्ता साझेदार एमाले र नेकपासँगको सम्बन्धमा कुनै समस्या नरहेको बताउँदै मुख्यमन्त्री यादवले प्रदेश सरकार स्थिर रहेको स्पष्ट पारे । केन्द्र र प्रदेश तहमा भएको सहमतिअनुसार मधेसमा तीन दलीय गठबन्धनकै सरकार अघि बढ्ने उनको भनाइ छ ।
राजनीतिमा जुनसुकै बेला अप्रत्याशित परिवर्तन हुनसक्ने भए पनि अहिलेसम्मको राजनीतिक परिस्थिति हेर्दा सरकार परिवर्तनको सम्भावना नरहेको यादवले बताए । उनका अनुसार केन्द्रमा भएको छलफल र पार्टी नेतृत्वसँगको परामर्शपछि प्रदेशमा गठबन्धनलाई निरन्तरता दिन निर्देशनसमेत प्राप्त भएको छ ।
मुख्यमन्त्री यादवले प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरूबीच सहमति कायम रहेको भन्दै वर्तमान सरकारलाई निरन्तरता दिने विषयमा आफू विश्वस्त रहेको बताए ।
केन्द्रमा तीन दलीय गठबन्धनबारे केही फरक नीति रहे पनि मधेसको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा भिन्न रहेको उनको भनाइ छ । मधेसमा जनता समाजवादी पार्टी ९जसपा० नेपाल बलियो प्रतिपक्षका रूपमा रहेकाले कांग्रेस, एमाले र नेकपा सम्मिलित सरकार गठन गर्दा प्रतिपक्षविहीन अवस्था नहुने उनले स्पष्ट पारे ।
‘मधेसमा प्रतिपक्ष बलियो छ । प्रतिपक्षसहित सबैको सहमतिमा बजेट पारित गरेका छौँ,’ मुख्यमन्त्री यादवले भने ।
उनले गठबन्धनमा रहेका दलहरूबीच प्रदेश सरकार सञ्चालनका विषयमा सहमति भइसकेको दाबी गर्दै अहिलेसम्मको राजनीतिक अवस्थाले मधेसमा सरकार ढल्ने वा नेतृत्व परिवर्तन हुने सम्भावना नदेखिएको बताए । यद्यपि, रातारात कुनै नयाँ राजनीतिक घटनाक्रम विकसित भए परिस्थिति फरक हुनसक्ने उनको भनाइ छ ।




