काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले हालको राजनीतिक संकट समाधानका लागि कांग्रेसको नेतृत्वमा राजसंस्था लगायत सबै राजनीतिक शक्ति र सामाजिक आन्दोलन समेटेर सर्वपक्षीय भेलाको आयोजना गर्नुपर्ने जोड दिएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान राजनीतिक अवस्था प्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “लोकतन्त्रको नाममा राजनीतिक दललाई एनजिओ र बाह्य प्रभावद्वारा विस्थापित गर्ने प्रयास भइरहेको छ। यसले राष्ट्रियता र सार्वभौम सत्तामा प्रत्यक्ष खतरा उत्पन्न गरिरहेको छ।”
गोपालमानले निषेध र विवादमा आधारित राजनीतिबाट टाढा रहनुपर्ने जोड दिनुभयो। उनका अनुसार, राजनीतिक दलहरूले पारस्परिक सहकार्य र संवादमार्फत मात्रै वर्तमान समस्याको दीर्घकालीन समाधान निकाल्न सकिन्छ। उनले थपे, “राजसंस्थालगायत परम्परागत शक्ति, राजनीतिक दल, र जेन९जी आन्दोलनजस्ता फरक दृष्टिकोण भएका शक्ति सबैलाई समेटेर समाधान खोज्न ढिला गर्नु हुँदैन।”
विश्लेषकहरूका अनुसार, गोपालमानको प्रस्तावले वर्तमान राजनीतिक गतिरोधको समाधानतर्फ एक पुलको रूपमा काम गर्न सक्छ। सर्वपक्षीय संवादमा सबै पक्षको सहभागिता सुनिश्चित भए मात्र स्थायी समाधान सम्भव हुने उनीहरूको दृष्टिकोण छ।




