राजनीति

अकल्पनीय घटनापछि कांग्रेसले दशैंको चियापान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यसपटक नगर्ने भएको छ।

पार्टीले भाद्र २३ र २४ गते भएको अकल्पनीय राजनीतिक घटनाक्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाएको, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय (सिंहदरबार), संसद भवन र सर्वोच्च अदालतसहित राज्यका तीनै अंगका संरचना गम्भीर क्षति पुगेको तथा कांग्रेस सभापतिसहितका शीर्ष नेतामाथि आक्रमण भएको दुखद घटनालाई कारण देखाएको छ।

कांग्रेसले विज्ञप्ति जारी गर्दै यस्तो पीडादायी परिस्थिति र मुलुक शोकमा डुबिरहेको संवेदनशील घडीमा चाडपर्व मनाउने भन्दा पनि सहानुभूति प्रकट गर्ने जिम्मेवारीलाई प्राथमिकता दिने जनाएको छ।

यसअघि कांग्रेसले दशैं, तिहार र छठ पर्वको अवसर पारेर वार्षिक चियापानलाई परम्परागत रूपमा आयोजना गर्दै आएको थियो। तर यस वर्ष, देश शोक र असामान्य राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै पार्टीले कार्यक्रम स्थगित गरेको हो।

अब कांग्रेसको यो निर्णयलाई संवेदनशील राजनीतिक सन्देशका रूपमा हेरिएको छ, जसले शोकमा रहेका नागरिकप्रति सम्मान र एकजुटताको अभिव्यक्ति दिएको ठहर विश्लेषकहरूले गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *