राजनीति

विद्या भण्डारीको पुनरागमनले एमालेभित्र हलचल, एमालेले के गर्ला निर्णय ?

काठमाडौं । नेकपा एमालेमा अहिले नेतृत्व प्रतिस्पर्धाको गर्मी एकाएक चुलिएको छ, र त्यसको केन्द्रमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमनको चर्चा छ। सदस्यता नवीकरणको विषयले पार्टीभित्र हलचल मच्चाइरहँदा, अध्यक्ष केपी शर्मा ओलीको “पेन्डिङ” रणनीतिले सत्ता समीकरणमा नयाँ तरंग ल्याएको छ।

भण्डारीले एक वर्षअघि सदस्यता नवीकरण गरिसकेको दाबी भए पनि ओलीले त्यसलाई सार्वजनिक रूपमै अस्वीकार गरेका छन्। “पूर्वराष्ट्रपति पार्टी राजनीतिमा फर्कनु उपयुक्त हुँदैन,” भन्ने ओलीको भनाइपछि भण्डारी समर्थक नेताहरू झस्किएका छन्।

तर यतिबेला भण्डारी भने ढुक्क देखिन्छिन्। उनी एमालेमा फर्कन मात्र होइन, नेतृत्वमा भूमिका खोज्ने तयारीमै रहेको संकेत दिइसकेकी छन्। च्यासल पार्टी कार्यालयमा आइतबार भएको भेटमा भण्डारीले ओलीसँग सिधा प्रश्न उठाएकी थिइन् – “मेरो सदस्यता किन पेन्डिङ राख्नुभयो ?”

यो प्रश्न सामान्य लागे पनि त्यसको राजनीतिक अर्थ गहिरो छ। भण्डारीलाई समेट्ने कि रोक्ने भन्ने दुविधामा पार्टीको शीर्ष तह छ। एकातिर, ओलीले संस्थागत अनुशासन र गणतान्त्रिक मर्यादा देखाएर ढोका थुन्न खोजिरहेका छन्स अर्कातिर, भण्डारीको पुनरागमनलाई वैचारिक पुनर्संयोजन र महिला नेतृत्वको सशक्तीकरणका रूपमा हेर्न चाहने समूह सक्रिय छ।

पार्टीभित्र अहिले नेतृत्व सन्तुलनको बहस चलिरहेको बेला भण्डारीको उपस्थिति निर्णायक बन्न सक्छ। खासगरी ओलीको उत्तराधिकारबारे चर्किंदै गएको बहसमा भण्डारी ‘स्ट्याण्डबाई विकल्प’ बन्ने चर्चा छ। यो ओलीका लागि राजनीतिक असहजता त हो नै, तर पार्टीभित्र गुटहरूको गतिशीलता परिवर्तन गर्ने कारक पनि बन्न सक्छ।

पूर्वराष्ट्रपतिका रूपमा उनी गरिमामय रूपमा बाहिरिएकी थिइन्, तर अब ‘जबजको अभियानमा फर्किएको छु’ भन्ने अभिव्यक्तिसँगै उनले सन्देश दिएकी छन्– उनी विचार, संगठन र रणनीतिक प्रभावका लागि मैदानमा छन्।

ओलीको असहजता, भण्डारीको सक्रियता र नेतृत्वको खुला प्रतिस्पर्धाको प्रारम्भिक संकेतबीच एमालेभित्रको शक्ति समीकरण पुनः लेखिने चरणमा पुगेको देखिन्छ। यदि पार्टीले भण्डारीको पुनरागमनलाई रोक्ने निर्णय गर्‍यो भने पनि, त्यो बहसको विषय बन्नेछ। अनि यदि स्वागत गर्‍यो भने, त्यो एमालेभित्र नेतृत्व संक्रमण र वैचारिक पुनर्संरचनाको संकेत हुनेछ।

अहिलेसम्म ओलीले भण्डारीको ढोका खुलेको छैन भनेका छन्, तर त्यो ढोका ढक्ढक्याउन थालिएको छ। अब त्यो ढोका खुल्छ कि बन्द नै रहन्छ — त्यो ओलीको मात्र होइन, एमालेको समग्र भविष्यको प्रश्न हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *