काठमाडौं । चार वर्षको दूरीपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम पुनः एउटै पार्टीमा एकजुट भएका छन्। शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा गौतमले एकीकृत समाजवादीमा औपचारिक प्रवेश गरे।
२०७५ सालमा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतले बदर गरेपछि गौतमले २०७८ मा छुट्टै अभियान सुरु गरेका थिए। लामो समय पार्टी एकताको प्रयास गरे पनि सफल नभएपछि अन्ततः उनले आफ्नै नेतृत्वमा नयाँ पार्टी बनाएका थिए।
चार वर्षपछिको यो पुनर्मिलनलाई स्मरणीय बनाउँदै अध्यक्ष नेपालले गौतमलाई दोसल्ला ओढाएर स्वागत गरे। दुबैले कसिलो अँगालो मार्दै अबको एकता दीर्घकालीन हुने संकेत दिए। पार्टी प्रवेशपछि भावुक बनेका गौतमले भने, “७७ वर्ष पुगेँ, अब सय वर्षसम्म कम्युनिस्ट आन्दोलनमा लागिरहने छु।”
गौतमले २०२२ सालदेखि सुरु गरेको आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै, राजतन्त्रको अन्त्य र कम्युनिस्ट पार्टीको एकता आफ्नो जीवनका दुई मूल संकल्प रहेको उल्लेख गरे। “२०७५ सालमा त्यो सपना पूरा भए पनि एकता लामो समय टिक्न सकेन,” उनले भने, “तर अझै हिम्मत हारेको छैन।”
अध्यक्ष नेपालले गौतमलाई पार्टीभित्र उचित जिम्मेवारी दिइने स्पष्ट गर्दै भने, “उहाँ व्यक्ति मात्र होइन, आन्दोलन हो।” उनले पार्टीलाई आन्तरिक रूपमा मजबुत बनाउँदै समाजवादी मोर्चामा रहेका अन्य दलहरूसँग पनि एकता गर्न प्रयास गरिने बताए।
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले २०७५ सालमा भएको वाम एकता अवसरवादको सिकार बनेको टिप्पणी गर्दै, अहिलेको पुनः एकता सन्देशमूलक भएको बताए। “दुई तिहाइको सरकार हुँदा क्रान्तिकारी कार्यसूचीहरू बिर्सिनु राजनीतिक कमजोरी हो,” उनले भने।
गौतम र नेपालबीच पछिल्लो महिनामा चलेको वार्ता अन्ततः असार २७ मा सहमति पत्रमा परिणत भएको हो। सहमति अनुसार गौतमलाई एकीकृत समाजवादीको वरिष्ठ नेता बनाइनेछ, जसको वरियतामा उनी अध्यक्ष नेपाल र झलनाथ खनालपछि तेस्रो स्थानमा रहने छन्।
यो एकताले छिन्नभिन्न वामपन्थी शक्तिहरूलाई समेट्दै नयाँ राजनीतिक ध्रुवीकरणको सम्भावना जन्माएको विश्लेषण गर्न थालिएको छ।




