राजनीति

माओवादीको विशेष महाधिवेशन अलपत्र, अब नियमित महाधिवेशनतर्फ संकेत

काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणा गरेअनुसार ६ महिनाभित्र विशेष महाधिवेशन बोल्ने तयारी थियो, तर त्यो अझै कार्यान्वयनमा आएको छैन। पार्टीले पूर्व–पश्चिम र मध्यपहाडी लोकमार्ग केन्द्रित ‘जागरण अभियान’ नै पूरा गर्न नसकेपछि विशेष महाधिवेशन टर्दै गएको छ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत पुसमा केन्द्रीय समिति बैठकमार्फत मङ्सिरमा विशेष महाधिवेशन गर्ने भनेका थिए। तर अहिले साउन १६ मा स्थायी समिति बैठक बस्न लागेको छ, केन्द्रीय समिति बैठकको अझै टुंगो छैन।

उपमहासचिव हरिबोल गजुरेलका अनुसार वर्षा सकिएपछि मात्रै बाँकी अभियान सकाएर केन्द्रीय समिति बैठक डाकिनेछ। उनले विशेष महाधिवेशनको सम्भावना टरेको र अब नियमित महाधिवेशनको तयारी हुने संकेत दिए।

अर्का उपमहासचिव जनार्दन शर्माले भने मङ्सिरमा विशेष महाधिवेशन हुनैपर्ने अडान दोहोर्याएका छन्। उनका अनुसार पार्टीलाई विधि, सिद्धान्त र प्रक्रिया अनुसार अघि बढाउन विशेष महाधिवेशन जरुरी छ।

यद्यपि नेताहरूले ‘एकता महाधिवेशन’ को सम्भावनासमेत देखिरहेका छन्। महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पार्टी एकता गर्ने प्रयास भइरहेको माओवादी नेताहरूको भनाइ छ।

विगतमा पटक–पटक विशेष महाधिवेशनको घोषणा भए पनि मिति तोक्न नेतृत्वले टालटुल मात्र गरेको भन्दै कार्यकर्ताहरूको गुनासो बढ्दै गएको छ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *