काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरूको निरन्तर अवरोधबीच प्रतिनिधिसभा बैठक फेरि स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरे।
संसद् सुरु हुनासाथै प्रतिपक्षी सांसदहरू उठेर आक्रोशपूर्ण ढंगमा विरोधमा उत्रिए। भिजिट भिसा दुरुपयोगको छानबिन समिति गठन गरिनुपर्ने मागसहित उनीहरूले संसदको कार्यसूचीमा अवरोध गरे। सभामुख घिमिरेले “संसद बोल्ने थलो हो, जनताको मुद्दामा बहस गरौं” भनेर आह्वान गरे पनि प्रतिपक्षीको अडान नरम नभएपछि बैठक स्थगन गरियो।
प्रतिनिधिसभा जेठ १३ गतेदेखि निरन्तर अवरुद्ध हुँदै आएको छ। आजको बैठकअघि नयाँ बानेश्वरस्थित संसद भवनमा प्रमुख दलहरूबीच संसद खुलाउने प्रयासस्वरूप छलफल भएको थियो। विपक्षीहरूले कांग्रेस–एमालेसँग स्पष्ट रूपमा “छानबिन समितिको प्रतिबद्धता जनाउनुस्” भन्दै प्रस्ताव गरेका छन्। सत्तापक्ष भने आन्तरिक समन्वय र रणनीतिक परामर्शमा जुटेको छ।
बजेट अधिवेशनको संवैधानिक समयसीमा नजिकिँदै जाँदा संसदको अवरोध राजनीतिक संकटमा रूपान्तरण हुने सम्भावना छ। यदि सहमति बन्न सकेन भने राजनीतिक संवाद र समझदारीका माध्यमबाट मात्रै संसद चलाउने विकल्प बाँकी रहन्छ।




