काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राष्ट्रवादी समर्थकहरूको कानूनी प्रक्रिया र आर्थिक दायित्व राप्रपाले बहन गर्ने घोषणा पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले गरेका छन्। हिरासतमा रहेका देशभक्त–राष्ट्रवादी बन्दीहरूको कानूनी सहायताका लागि राप्रपाले पूर्ण जिम्मेवारी लिने लिङदेनको भनाइ छ।
हिजो राप्रपाको केन्द्रीय कार्यालयमा बसेको संयुक्त जनआन्दोलन समितिको बैठकमा लिङदेनले यस्तो घोषणा गरेका हुन्। राप्रपाले लिएको यो निर्णयलाई राजावादी पक्षधर नेताहरूले स्वागत गरेका छन्।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत तीनकुने घटनामा पक्राउ परेका सबैको कानूनी प्रक्रियामा लाग्ने सम्पूर्ण आर्थिक दायित्व राप्रपाले व्यहोर्नेछ। अहिलेसम्म सबैले व्यक्तिगत रूपमा व्यवस्थापन गर्दै आएका थिए, अब त्यसको सम्पूर्ण जिम्मेवारी राप्रपाले लिएको छ, उनले बताए।
अध्यक्ष लिङदेनले आवश्यक कानूनी प्रक्रियालाई सहज बनाउन राप्रपासम्बद्ध कानून व्यवसायी संगठन र अधिवक्ताहरूलाई तयारी गर्न निर्देशनसमेत दिएका छन्। निःशुल्क कानूनी सहायता उपलब्ध गराइरहेका कानून व्यवसायीहरूलाई बैठकले धन्यवाद व्यक्त गरेको छ।
तीनकुनेमा १५ चैतमा आयोजित राजावादी आन्दोलनको मुख्य आयोजक राप्रपा भने थिएन। नागरिक बचाउ महाअभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईँले सो कार्यक्रमको आयोजना गरेका थिए। संयुक्त जनआन्दोलन समितिले उक्त आन्दोलनलाई समर्थन जनाए पनि राप्रपा अध्यक्ष लिङदेन त्यहाँ सहभागी थिएनन्।
राप्रपाले सबै पक्राउ परेकाको कानूनी जिम्मेवारी लिने घोषणा गरे पनि दुर्गा प्रसाईँ त्यसमा समेटिन्छन् या समेटिँदैनन् भन्ने अन्योल कायमै छ। राप्रपा स्रोतले यसबारे स्पष्टता नभएको बताएको छ। अध्यक्षज्यूले सबैको जिम्मेवारी लिने बताउनुभएको छ, तर नाम विशेष भने तोकिएको छैन, स्रोतले भन्यो, प्रसाईँ पनि त्यसमा अटाउँछन् कि पर्दैनन्, त्यो अझै खुलाइएको छैन।
दुर्गा प्रसाईँ र राप्रपाबीचको सम्बन्ध पहिलेदेखि नै असमझदारीपूर्ण रहेको र प्रसाईँले सार्वजनिक मञ्चहरूमा राप्रपालाई आलोचना गर्दै आएका थिए। त्यसैले, राप्रपाको निर्णयले प्रसाईँसमेत समेट्ने हो वा होइन भन्ने चासो बढेको छ।




