राजनीति

शिक्षक आन्दोलन र प्रधानमन्त्रीबीच आज निर्णायक भेट हुँदै ,माग पुरा नगरी नफर्कने महासंघको अडान

काठमाडौं । शिक्षक आन्दोलनको १७औं दिनमा प्रवेश गर्दै गर्दा आज साँझ शिक्षक महासंघ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच छलफल हुने भएको छ। प्रधानमन्त्री ओलीले साँझ ७ बजेका लागि शिक्षक महासंघका प्रतिनिधिहरूलाई बालुवाटार बोलाएका छन्।

शिक्षक महासंघका सहअध्यक्ष एवं आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले प्रधानमन्त्रीको निम्तो आएको पुष्टि गर्दै भनिन्, “हामी प्रधानमन्त्रीसँग आफ्ना माग राख्न जान्छौं, तर ऐन नआएसम्म आन्दोलन रोकिने छैन।”

शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित सडकमा उत्रिएको आज १७ दिन भएको छ। यसअघि शिक्षामन्त्री र शिक्षा सचिवसँग भएको बैठकमा पनि कुनै सहमति जुट्न सकेको थिएन। शिक्षक महासंघ अहिले पनि कसलाई बैठकमा पठाउने भन्नेबारे अन्तिम छलफलमा जुटिरहेको छ। महासंघको स्पष्ट अडान छ—“मुलुकभरका शिक्षकहरूको आन्दोलन तबमात्र रोकिन्छ जब शिक्षा ऐन पारित हुन्छ।”

आजको बैठकबाट कुनै समाधान निस्कन्छ कि भन्ने विषयमा शिक्षक पक्ष भने अझै शंकास्पद देखिन्छ। “बैठक बस्दैमा समाधान निस्किन्छ भन्ने होइन,” पराजुलीले भनिन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *