मुख्य समाचार

एमाले छाड्ने भीम रावलको संकेत, ओलीविरुद्ध आक्रम हुँदै भने, ‘घुम्तीमा पुगेको छु’

काठमाडौं। नेकपा (एमाले) का नेता एवं पूर्व उपप्रधान एवं गृहमन्त्री भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको कारण घुम्तीमा पुगेको बताएका हुन् ।

उनले आगामी मोडबारे रिपोर्टर्स क्लबको मञ्चबाटै सार्वजनिक गर्ने पनि प्रतिवद्धता जनाए । आफूलाई एमाले अछाम जिल्ला अधिवेशन हुँदै राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा समेत निषेध गरिएको उनले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेकै कारण आफूलाई निधेष गरिएको उनको निश्कर्ष छ ।

‘गोदावरीको अधिवेशनमा मलाई उहाँहरुले जुन प्रकारले व्यवहार गर्नुभएको छ, यसपछि मैले के सोचेको छु भने अब मलाई राजनीतिको जीवनको एउटा मोडमा धकेलिएको जस्तो मलाई महशुस भएको छ । एउटा घुम्तीमा पुगेजस्तो मैले महसुश गरेको छु ।

हामी सबैलाई थाहा छ, हाम्रो सामान्य जीवनमा पनि हिँड्दै जादा घुम्तीमा पुग्यौं भने त्यो अर्को मोडमा मान्छे लाग्छ ।’ उनले भने, ‘कतै उहाँहरुले मलाई त्यो घुम्तीमा धकेलेर अर्को मोडमा जाओस् भनेर यो काम त गरिरहेको हो कि भन्ने मैले महसुश गरेको छु । म घुम्तीमा पुगेको छु भने मोड कस्तो हुने छ भन्ने कुरा रिपोर्टर्स क्लबको लोकप्रिय मञ्च छदैछ, फेरि म त्यो कुरामा आउने छु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *