काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदष्य तथा सांसद अर्जुननरसिंह के.सी. र बलबहादुर के.शीले राष्ट्रियसभा सदस्यको निर्वाचनमा उमेदवारी छनोटको विषयमा गत पौष १४ गते कांग्रेस केन्द्रिय समितिले गरेको निर्णय बमोजिम नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार एक सुचना जारी गर्दै राष्ट्रिय सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसले सो निर्णय बमोजिम उमेदवारी चयनमा ध्यान नदिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेद्वार तय गर्ने सम्बन्धमा गत पौष १४ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रदेश कार्यसमितिको सिफारिस भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुऱ्याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका, हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका, योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको तर सोही निणर्यलाई पालन नगरी राष्ट्रिय सभा निर्वाचनका लागि उमेदवारी चयन भएको भएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका हुन् ।
उनीहरुले समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व नपाएको र विज्ञ, बौद्धिक, व्यावसायिक र पेशागत वर्गलाई पूर्ण रुपमा उपेक्षा गरिएको जनाएका छन् । समग्रतामा उम्मेद्वार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आम भावना विपरीत भएकोले राष्ट्रियसभा उम्मेद्वार चयनको हालैको निर्णयमा असहमत भएकोले फरक मत प्रस्तुत गरेका हुन् ।





