काठमाडौं । एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा नेकपा एमालेका नेताद्वय भीम रावल र घनश्याम भुसालले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र एमसिसीलाई समर्थन गर्न नहुने भनि नेतृत्वलाई सुझाव दिएका छन् ।
संसदीय दलको जारी बैठकमा बोल्ने क्रममा रावलले एमाले एमसिसीविरूद्ध उभिनुपर्ने बताएका हुन्। अरु न्यायाधीशमाथिको महाअभियोगबारे पनि उनीहरुले सोचेरमात्र कदम चाल्नुपर्ने बताएका छन् ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै भुसालले भने– यो अवस्थामा चोलेन्द्रलाई बोक्नु हुँदैन भनेका छौं । अध्यक्षले पनि सोचेर कदम चाल्छौं भन्नुभएको छ । चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जान सकिँदैन ।
बैठकमा रावलले एमसीसीको विरोधमा एमाले सशक्त रुपमा उभिनुपर्ने धारणा राखेका थिए । एमसीसीलाई पास हुन नदिने गरि एमाले अघि बढ्नुपर्ने धारणा आएको भुसालले बताए ।
बैठकमा रावलले एमसीसीका सन्दर्भमा पार्टी नेतृत्वले लिएको नीतिको समेत आलोचना गरेका थिए ।




