काठमाडौं । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन शुरु हुने भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीका ७७ वटै जिल्लाको अधिवेशन पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअलरुपमा गर्ने भएका हुन् । एमालेले दिएको जानकारीअनुसार उद्घाटन सबै जिल्लाको एकैपटक भएपनि अधिवेशन भने ६४ जिल्लामा मात्रै हुनेछ ।
गत मङ्सिर १० देखि १४ गतेसम्म भएको दशौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको मङ्सिर २५ र २६ गते भक्तपुरमा सम्पन्न दोस्रो पूर्ण बैठकले यही पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो ।




