काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनले बनाएको राजनीतिक संयन्त्र नभएको स्पष्ट पारेको छ ।
राजनीतिक संयन्त्र नभएर समन्वयका लागि समिति मात्रै गठन गरेको जनमोर्चाले बताएको छ । उपाध्यक्ष दुगौ पौडेलले विज्ञप्ती जारी गर्दै समितिले सरकार सञ्चालनसम्बन्धी काम नगर्ने स्पष्ट पारेकी छन् ।
उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पहिले सरकारको सञ्चालनको लागि पाँच दलीय संयन्त्र बनाउने कुरा उठेको थियो । तर हाम्रो पार्टी सरकारमा सामेल नभएको हुनाले हामीले त्यस प्रकारको संयन्त्रमा नबस्ने कुरा स्पष्ट गरेका थियौँ । तर अहिले बनेको समिति सरकारको सञ्चालन सम्बन्धी संयन्त्र नभएको कुरा हामीले स्पष्ट गर्न चाहान्छौँ ।’
अहिले बनेको समन्वय समिति सरकारको सञ्चालनको संयन्त्र नभएपनि त्यसले आपसी छलफल र विचार विमर्शद्वारा सरकारलाई सहयोग पुर्याउन भने सक्ने जनमोर्चाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।




