राजनीति

भोटेकोशी– २ का एक सयभन्दा बढी युवा कांग्रेसमा प्रवेश (फोटोफिचर)

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सस्तो नारा र प्रचारबाजीलाई जनताले विश्वास गरेर कम्युनिष्टलाई झण्डै दुई तिहाइ मत दिएर विजयी गराए पनि उनीहरुले केही गरेर देखाउन नसकेको बताए । पार्टी खेलकुद विभागले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता बस्नेतले भने, ‘अब कसैले पनि उनीहरुको कुरा पत्याउनु हुँदैन, कम्युनिष्टहरुले देश विकास गर्न सक्दैनन् ।’

जनताले दिएको मतमाथि कम्युनिष्टले गद्दारी गरेको आरोप नेता बस्नेतले लगाए । नेपाली कांग्रेसले मात्रै सबैको विकास गर्न सक्ने उनको दावी थियो । नेपाल भने, ‘नेपाली युवाहरुलाई आकर्षित गर्न एमाले र माओवादीले दिएको सस्तो नारामा अब कसैले पनि विश्वास गर्नु हुँदैन ।’

पार्टी प्रवेश कार्यक्रममा भोटेकोशी गाउँपालिका वडा नम्बर २ का एक सयभन्दा बढी युवा माओवादी केन्द्र परित्याग गरेर नेपाली कांग्रेसमा आवद्ध भएका छन् । माओवादी केन्द्रका स्थानीय नेता अर्जुन घतानीको नेतृत्वमा उनीहरु कांग्रेस प्रवेश गरेका हुन् ।

उनीहरुले आफूहरु तातोपानी नाका छेउका स्थानीय बासिन्दा भएकाले नाका सहज रुपमा खुलाउन पहल गर्नुको साटो यस निर्वाचन क्षेत्रबाट सांसद बनेका प्रतिनिधिसभाका सभामुखसमेत रहेका अग्निप्रसाद सापकोटाले हालैमात्र गरेको भाषणले नै उनीहरु कति गैरजिम्मेवार छन् भन्ने प्रमाणित गरेकोले अब यस भेगका युवाहरु मओवादीमा नलाग्ने प्रण गरे ।

कार्यक्रममा कांगेस नेता हरिशरण श्रेष्ठ, युवा नेता युधीर पौडेल, भोटेकोशी २ का नेता कुमार श्रेष्ठ, बच्चु घतानी लगायतकाको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *