काठमाडौं । उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो प्रवृत्ति रोक्न नेपालमै गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने शिक्षा उपलब्ध गराउनुपर्नेमा शिक्षा क्षेत्रका विज्ञहरूले जोड दिएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) को ३०औँ स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी शिक्षाविद् तथा सरोकारवालाले नेपालको शिक्षा प्रणालीलाई समयानुकूल र गुणस्तरीय बनाउनुपर्ने आवश्यकता औँल्याएका हुन् ।
कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा राजेन्द्रध्वज जोशी, पूर्वराज्यमन्त्री उमेश श्रेष्ठ, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा तीर्थ खनियाँ र मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा उपेन्द्र कोइरालालगायतको सहभागिता थियो ।
वक्ताहरूले नेपालको वर्तमान शैक्षिक अवस्था, शिक्षाको गुणस्तर र उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको बढ्दो सङ्ख्याबारे चर्चा गर्दै स्वदेशमै गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्नुपर्ने बताए । उनीहरूले विद्यार्थीलाई नेपालमै भविष्य देख्ने अवस्था सिर्जना गर्न हिसानले आफ्नो भूमिका थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
हिसानका अध्यक्ष युवराज शर्माले नेपालको शैक्षिक गुणस्तर सुधार तथा शिक्षा क्षेत्रको विकासमा संस्थाले निरन्तर योगदान गर्दै आएको बताए । उनले आगामी दिनमा पनि शैक्षिक क्षेत्रको उन्नयनका लागि संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका अध्यक्ष प्राडा जोशीले नेपालको शिक्षा क्षेत्रमा हिसानले पुर्याएको योगदानको प्रशंसा गर्दै संस्थाले आफ्नो भूमिका र कार्यक्षेत्र थप विस्तार गर्नुपर्ने बताए ।
हिसानले स्थापना दिवसकै अवसरमा शुक्रबार बिहान काठमाडौंमा म्याराथन दौडसमेत आयोजना गरेको थियो । संस्थाले ३०औँ स्थापना दिवसलाई शैक्षिक गुणस्तर अभिवृद्धि र शिक्षा क्षेत्रको विकासप्रति प्रतिबद्धता व्यक्त गर्ने अवसरका रूपमा मनाएको छ ।




