काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि चुलिएको विवादले पार्टी दुई धारमा विभाजित भइरहेका बेला डा. शेखर कोइराला समूहले भने दुवै पक्षका महाधिवेशन बहिष्कार गर्दै पार्टी एकताका लागि मध्यस्थताको रणनीति अघि सारेको छ ।
सभापति गगनकुमार थापा नेतृत्वको समूहले विशेष महाधिवेशनमार्फत १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले आगामी मंसिर २१ देखि २३ गतेसम्म समानान्तर महाधिवेशन गर्ने तयारी गरेको छ । तर, यी दुवै प्रक्रियामा सहभागी नभई कोइराला समूह तटस्थ बसेको हो ।
१४औँ महाधिवेशनमा देउवासँग सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालाले पार्टी विभाजन हुन नदिन दुवै पक्षसँग संवाद गर्ने बाटो रोजेको उनीनिकट नेताहरूको भनाइ छ ।
पूर्वसहमहामन्त्री बद्री पाण्डेले पार्टी एकताका लागि आफूहरूले अन्तिम समयसम्म प्रयास गरेको बताए । दुवै पक्षका महाधिवेशन सकिएपछि एकताको विषयमा वार्ता र छलफल अघि बढाउने उनको भनाइ छ ।
‘एउटै अधिवेशन गर्नुपर्छ, एकताको अधिवेशन गर्नुपर्छ भन्ने प्रयासमा रह्यौँ । अन्तिम दिनसम्म प्रयास गर्यौँ,’ पाण्डेले भने, ‘दुवै अधिवेशनमा नगएर तटस्थ बसेर एकताका लागि पहल गर्ने उद्देश्य हाम्रो हो । दुईवटै समूहका अधिवेशन सम्पन्न भएपछि दुवै पक्षका नेताहरूसँग वार्ता र छलफल गर्छौं ।’
शेखर कोइराला समूहका नेताहरूले कांग्रेस एक रहनुको विकल्प नभएको निष्कर्षसहित दुवै महाधिवेशनमा सहभागी नहुने निर्णय गरेका हुन् । दुवै महाधिवेशनबाट टाढा रहने नेताहरूमा पूर्वसहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, सञ्जय गौतम र सरिता प्रसाईलगायत छन् । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, राष्ट्रियसभा सदस्य आनन्दप्रसाद ढुंगाना पनि दुवै पक्षका महाधिवेशनमा सहभागी भएका छैनन् ।
त्यस्तै, नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष दुजाङ शेर्पा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्वअध्यक्ष उमेश थानी पनि कुनै पक्षको महाधिवेशनमा सहभागी भएका छैनन् । नेविसंघका निवर्तमान अध्यक्ष शेर्पाले पार्टी एक रहोस् भन्ने चाहनाका कारण गुटगत महाधिवेशनमा सहभागी नभएको बताएका छन् ।
‘पार्टी एक होस् भन्ने चाहना छ । गुटका अधिवेशनमा सहभागी नहुने घोषणा गरेको थिएँ । अहिलेसम्म त्यो अडान कायमै छ,’ उनले भने । १४औँ महाधिवेशनमा शेखर कोइरालाले देउवासँग प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए । उनको समूहबाट उपसभापतिमा धनराज गुरुङ, महामन्त्रीमा गगन थापा तथा सहमहामन्त्रीमा बद्री पाण्डे र जीवन परियार निर्वाचित भएका थिए ।
त्यसबेला कोइराला समूहबाट उल्लेख्य संख्यामा केन्द्रीय सदस्यसमेत निर्वाचित भएका थिए । तर विशेष महाधिवेशनपछि पार्टीभित्रको समीकरण फेरिएको छ । कोइरालाको समूहमा रहेका केही नेता देउवा पक्षमा र केही गगन थापा नेतृत्वको संस्थापन समूहमा पुगेका छन् । विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएपछि कोइराला समूहबाट निर्वाचित भएका धनराज गुरुङ र जीवन परियार पनि नयाँ नेतृत्वको पक्षमा पुगेका छन् । यसले १४औँ महाधिवेशनमा प्रभावशाली रहेको कोइराला समूहको सांगठनिक शक्ति अहिले कमजोर बनेको छ ।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि समूहको शक्ति पहिलेको तुलनामा घटेको स्वीकार गरेका छन् । तर, पार्टी एकताको पक्षमा उभिनु नै अहिलेको प्राथमिकता भएको उनको भनाइ छ । पार्टी मिल्नुको विकल्प छैन । पार्टी एकता कायम रहनुपर्छ भन्ने दाइको अडान छ । त्यसलाई बल पुर्याउन कतै नलाग्नुभएको हो,’ थपलियाले भने ।
उनले समूहको शक्ति खुम्चिए पनि पार्टी एकताका लागि कोइरालाको भूमिका महत्त्वपूर्ण हुने दाबी गरे । स्ट्रेन्थ सानो भयो, त्यो स्वाभाविक हो । उहाँकै जोडबलमा पार्टी मिल्दा को कता भन्ने हुँदैन । उहाँको मुद्दा स्थापित हुन्छ,’ थपलियाले भने ।
कांग्रेसको विवाद अदालतसम्म पुगेको अवस्थामा दुवै पक्षका महाधिवेशनपछि कोइराला समूहले अघि बढाउने संवाद र एकता पहललाई पार्टीभित्रको आगामी राजनीतिक समीकरणका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ ।




