काठमाडौँ। कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपालसामु १२२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
दोहास्थित विज्ञान तथा प्रविधि विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले ३९.५ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनायो । उसका लागि मुहम्मद शाहदादले ४०, हरप्रीत सिंहले ३२ र नुरुल्लाह अयोबीले १२ रन बनाए । युएईका बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि बलिङतर्फ कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान ३-३ तथा राशिद खान, नन्दन यादव र ललितनारायण राजवंशीले १-१ विकेट लिए । जारी प्रतियोगितामा नेपाल र युएई पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा भारत ‘ए’ र युएईले पाकिस्तान ‘ए’ विरुद्ध पराजयको सामना गरेका थिए । यस प्रतियोगितामा आठ वटा टोलीको सहभागिता छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ ।




