काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो जीवनमा अब केही पाउन बाँकी नरहेको बताएका छन्। इतर पक्षको बागलुङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले जीवन रहेसम्म देश, जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
‘म डडेलधुराको साधारण परिवारमा जन्मिएको व्यक्ति हुँ। पाँच पटक प्रधानमन्त्री भइसकेँ। जनताले मलाई धेरै कुरा दिइसक्नुभएको छ। अब मैले केही पाउनु छैन। आफ्नो जीवन रहेसम्म देश र जनतालाई दिने हो,’ देउवाले भने, ‘अब दिनुपर्ने मात्रै छ। मेरो जीवन रहुन्जेल नेपाली जनता, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रका लागि आफ्नो सम्पूर्ण जीवन समर्पण गर्न चाहन्छु।’
उनले आगामी निर्वाचनमा बागलुङबाट नेपाली कांग्रेसलाई अत्यधिक बहुमतका साथ विजयी गराउन पनि आग्रह गरे। साथै, पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतबाट आफूले नै न्याय पाउने विश्वास व्यक्त गरे।
आफू विगतमा पञ्चायतकाल र पूर्वराजा ज्ञानेन्द्रको शासनकालमा समेत जेल परेको स्मरण गर्दै देउवाले न्यायपालिकाले कठिन परिस्थितिमा पनि न्याय दिएको बताए।
‘हिजो पञ्चायतकालमा मलाई थुनेर राखिएको थियो। त्यो बेला अदालतले हिम्मत गरेर मलाई रिहा गर्यो। पूर्वराजा ज्ञानेन्द्रको पालामा पनि शाही आयोग गठन गरेर मलाई थुनिएको थियो। राजाका अगाडि सर्वोच्च अदालत पनि डराएको थियो। तर सर्वोच्चले हिम्मत गरेर मलाई जेलबाट छुटायो,’ उनले भने।
पार्टीको आधिकारिकतासम्बन्धी विवादमा पनि सर्वोच्च अदालतबाट पूर्ण न्याय पाउनेमा आफू विश्वस्त रहेको देउवाको भनाइ थियो।




