देश

तीन दिने विश्वकल्याण महारुद्राभिषेक आजदेखि सुरु

काठमाडौँ ।‘वैदिक ज्ञानका क्षेत्रमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ’ भन्ने विचार प्रस्तुत गर्ने वैज्ञानिक सन्त महर्षि महेश योगी नेपाल आगमनको ५२औँ वार्षिकोत्सवका अवसरमा तीन दिने महायज्ञ सुरु भएको छ।

आजदेखि मङ्सिर १ गतेसम्म दक्षिणकाली नगरपालिका–१ स्थित ब्रह्मानन्द सरस्वतीग्रामा महायज्ञ सञ्चालन हुने नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष एवं पूर्वमन्त्री दीपकप्रकाश बास्कोटाले जानकारी दिए।

विसं २०३१ कात्तिक ८ गतेदेखि २३ गतेसम्म नेपालमा आएर महर्षि महेश योगीले वैदिक ज्ञानमा नेपालले विश्वको नेतृत्व गर्न सक्छ भनी उद्घोष गरेका थिए। त्यसबेला उनलाई नेपाल आमन्त्रण र स्वागत गर्नेमा योगी नरहरिनाथ, नाट्यसम्राट बालकृष्ण सम, संस्कृतिविद् एवं साहित्यकार पूर्णप्रसाद ब्राह्मणलगायत थिए।

गत भदौमा रसुवाको भोटेकोशी र असोजमा गोरखाको बूढीगण्डकीको प्राकृतिक विपद्बाट जीवन गुमाउनेको आध्यात्मिक उद्धार अर्थात् मोक्षत्व प्राप्तिको कामनासहित पनि विश्वकल्याण महारुद्राभिषेक यज्ञ सुरु गरिएको हो।

विपद्बाट जीवन गुमाएकाको मोक्षत्व प्राप्तिका लागि त्रिदिवसीय यज्ञ आयोजना गरिएको फाउन्डेसनले जनाएको छ। महायज्ञका क्रममा महालक्ष्मी विशेष साधना कार्यक्रम पनि राखिएको पनि अध्यक्ष बास्कोटाले बताए।

महायज्ञका अवसरमा नेपाल संस्कृत विश्वविद्यालयका प्राडा माधवप्रसाद पाण्डेयले सनातन धर्मावलम्बीले दैनिक रूपमा वेदले बताए अनुसार गर्नुपर्ने नित्य कर्मका विषयमा प्रवचन गरेका थिए। शास्त्रीय वचन अनुसार नित्य कर्म र सन्ध्योपासना कर्म नगर्नेले गरेको कुनै पनि कर्म सफल नहुनेमा उनले आम मानिसको ध्यानाकर्षण गराएका थिए।

महर्षि महाअभियानले वैदिक पुन:उत्थान निम्ति विश्वव्यापी महाअभियान चलाउँदै आएको छ। महर्षि-संस्थाले हरेक वर्ष कम्तीमा महारुद्र महायज्ञ गरिरहने सङ्कल्प लिएको अध्यक्ष बास्कोटाले जानकारी दिए। यसअघि २०८१ सालमा महर्षि आगमनको स्वर्ण महोत्सवको अवसर पारेर भृकुटीमण्डपमा अतिरुद्र महायज्ञ र २०८२ मा दक्षिणकाली नगरपालिका-१ स्थित ब्रह्मानन्द सरस्वतीग्राममा महारुद्र यज्ञ गरिएको थियो।

यज्ञमा जोसुकै नेपाली स्वयंकर्ता हुन तथा आ-आफ्नै हातमा जौ, तिल र कुश राखेर आ-आफ्ना अभिष्टसिद्धिका लागि सङ्कल्प गर्न सकिने व्यवस्था मिलाइएको फाउन्डेसनले जनाएको छ। फाउन्डेसनले हाल देशभरका ९० गुरुकुलमा विश्व शान्ति एवं मानव कल्याणको सङ्कल्पले दैनिक रुद्राभिषेक यज्ञ पनि गराइरहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *