काठमाडौँ। महिला यु-१९ ‘ए’ महिला क्रिकेटमा भारतविरुद्ध नेपाल १२५ रनले पराजित भएको छ । आज सम्पन्न खेलमा भारतले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ८० रन मात्र बनायो ।
नेपालका लागि सावित्री धामीले १९ र तृषना विश्वकर्माले १८ रन जोडिन् । बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् ।
भारतका लागि बलिङतर्फ मैत्री मनियारले तीन ओभरमा एक मेडनसहित सात रन दिएर सर्वाधिक चार विकेट लिइन् । त्यसअघि भारतको बेङ्गलुरुस्थित भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसिआई) को क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०५ रन बनाएको थियो ।
भारतका लागि भाविका अहिरेले ४८, तानिष्का शर्माले ३६, आर्या पोङ्दे र निधि महतोले ३५-३५ र इरा जाधवले २६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ टीका साहले दुई, रचना चौधरी र आशिका महराले समान एक-एक विकेट लिइन् ।
भारत भ्रमणअन्तर्गत श्रृङ्खलाको पहिलो खेलमा नेपाली टोली नौ विकेटले पराजित भएको थियो । नेपालले अब तेस्रो खेल बुधबार खेल्ने तालिका छ । नेपालले आगमी वर्ष घरेलु मैदानमा आयोजना हुने यु-१९ विश्वकपको तयारीका लागि भारतमा अभ्यास गरिरहेको हो ।




