काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।
आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गर्ने निर्णयविरुद्ध कार्कीले कात्तिक २० गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
बिनासूचना र सुनुवाइको मौका नदिई आफूलाई पदबाट हटाइएको जिकिर गर्दै कार्कीले सर्वोच्चमा रिट दिएका हुन्। उनले एआईजी मनोज केसीलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने तथा दर्ज्यानी चिह्न प्रदान गर्नेलगायतका निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गरेका छन्।
कार्कीले आफूलाई जिम्मेवारीमुक्त गर्दा कार्यसम्पादन, आचरण, क्षमता वा योग्यतासम्बन्धी कुनै आरोपसमेत उल्लेख नगरिएको रिटमा दाबी गरेका छन्।
कात्तिक १८ गते बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीमुक्त गर्दै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।




