देश

नसर्ने रोग नियन्त्रणमा सरकारको जोड, रोकथाम र जनचेतनालाई प्राथमिकता

काठमाडौं । नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरण गर्न सरकारले रोकथाम, जनचेतना र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । यसका लागि बहुक्षेत्रीय कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र सार्वजनिक स्वास्थ्य सुधारका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ ।

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकारको अध्यक्षतामा बसेको बैठकमा नसर्ने रोगको वर्तमान अवस्था र नियन्त्रणका उपायबारे छलफल भएको हो ।

बैठकले नसर्ने रोगको दीर्घकालीन रोकथामका लागि स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ । साथै, कार्ययोजना कार्यान्वयनका लागि सबै मन्त्रालयसँग अन्तरक्रिया गर्ने र नियमित समीक्षा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

नसर्ने रोग नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्ने, विद्यालय तहदेखि सार्वजनिक स्वास्थ्य शिक्षा लागू गर्ने तथा स्वस्थ जीवनशैलीसम्बन्धी जनचेतना विस्तार गर्ने विषयमा पनि बैठकमा छलफल भएको थियो । विशेषज्ञ चिकित्सकलाई देशमै टिकाउने उपायबारे समेत चासो व्यक्त गरिएको छ ।

बैठकले सुर्तीजन्य पदार्थ, इनर्जी ड्रिंक, जंक फुड, विषादीयुक्त खानेकुरा र अस्वस्थ जीवनशैलीलाई नसर्ने रोगका प्रमुख जोखिमका रूपमा औँल्याएको छ । यस्ता वस्तुको नियन्त्रण तथा नियमनमा प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३८४ मा क्यान्सरलगायत नसर्ने रोगको नियन्त्रणका लागि उपचारभन्दा रोकथामलाई प्राथमिकता दिने नीति लिएको छ । नियमित स्वास्थ्य परीक्षण, जनचेतना अभिवृद्धि र जीवनशैली सुधारमा आधारित रणनीति कार्यान्वयन गर्ने सरकारको योजना छ ।

नेपालले सन् २०३० सम्म नसर्ने रोगका कारण हुने अकाल मृत्यु एक तिहाइले घटाउने दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *