चितवन । जिल्ला भूमि समस्या समाधान समिति चितवनले रत्ननगर नगरपालिका–१२ का १७ परिवारलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेको छ ।
लालपुर्जा प्राप्त गर्नेमा एक भूमिहीन दलित, चार भूमिहीन सुकुमबासी र १२ अव्यवस्थित बसोबासी परिवार रहेका छन् ।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेका भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ ।
भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइएको सचिवालयले जनाएको छ ।




