देश

प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न लगाउने परम्परामा फेरबदल, गृहमन्त्री गुरुङले लगाए केसीलाई फुली

काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) डा.मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा पनि परम्परागत अभ्यासभन्दा फरक दृश्य देखिएको छ । नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङले आफैँ फुली लगाइदिएका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । यसअघि सामान्यतया गृहसचिवले नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने प्रचलन रहँदै आएको थियो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने निर्णय गरेको थियो । पदमुक्त भएका कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरीमा आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास समयअनुसार परिवर्तन हुँदै आएको छ । सुरुमा अवकाशमा जान लागेका प्रहरी महानिरीक्षकले नयाँ नियुक्त हुने प्रमुखलाई फुली लगाइदिने परम्परा थियो ।

तर प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको नियुक्तिका क्रममा तत्कालीन गृहमन्त्री वामदेव गौतमले आफैँ दर्ज्यानी चिह्न प्रदान गरेपछि पुरानो अभ्यासमा परिवर्तन आएको थियो । त्यसपछि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न लगाइदिने चलन स्थापित भएको थियो ।
अहिले गृहमन्त्री गुरुङले पुनः आफैँ फुली लगाइदिएपछि प्रहरी नेतृत्व हस्तान्तरणको औपचारिक अभ्यासमा अर्को परिवर्तन देखिएको छ ।

गृहमन्त्री गुरुङले यसअघि नै प्रहरी प्रमुखलाई प्रधानमन्त्रीबाट दर्ज्यानी चिह्न प्रदान गर्ने व्यवस्था मिलाउने बताएका थिए ।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेको तीन दिनपछि गत १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षणमा पुगेका उनले नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले नै फुली लगाउने व्यवस्था गर्न आफूले पहल गर्ने बताएका थिए ।

‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु,’ त्यसबेला उनले भनेका थिए । तर बुधबार भने प्रधानमन्त्रीको सट्टा गृहमन्त्री स्वयंले केसीलाई दर्ज्यानी चिह्न प्रदान गरे । यससँगै प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नयाँ व्यक्तिको आगमनसँगै दर्ज्यानी चिह्न हस्तान्तरणको अभ्यास पनि चर्चामा आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *