रसुवा । भोटेकोशी बाढीका कारण लामो समय प्रभावित बनेको रसुवाको प्रमुख पर्यटकीय गन्तव्य लाङटाङ र धार्मिक क्षेत्र गोसाइँकुण्डमा पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । सडक तथा पदमार्गमा सुधार भएपछि आन्तरिक र बाह्य पर्यटकको आगमनसँगै पर्यटन व्यवसायसमेत बिस्तारै लयमा फर्कन थालेको हो ।
गत भदौ १० गते आएको बाढीका कारण करिब दुई महिनासम्म सडक र पदमार्ग अवरुद्ध हुँदा यस क्षेत्रको पर्यटन गतिविधि ठप्पजस्तै बनेको थियो । वेत्रावतीमा बेलिब्रिज निर्माण गरी सडक सञ्जाल पुनः सञ्चालनमा आएपछि पर्यटकको आवागमन बढ्न थालेको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार बाढीले पर्यटन क्षेत्रलाई लामो समय प्रभावित बनाए पनि सडक तथा पदमार्ग सहज भएपछि पर्यटकको आगमन क्रमशः बढिरहेको छ ।
पर्यटन तथा होटल व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले लाङटाङ र गोसाइँकुण्ड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन उत्साहजनक रूपमा सुरु भएको बताए । उनका अनुसार बाढीले केही समय अवरुद्ध बनेका मार्ग सहज भएपछि पर्यटक निर्धक्क भएर गन्तव्यमा पुग्न थालेका छन् ।
गोसाइँकुण्ड मार्गमा होटल सञ्चालन गर्दै आएका व्यवसायी पासाङ ध्युमीले बाटो खुलेसँगै धार्मिक तथा प्राकृतिक महत्व बोकेको गोसाइँकुण्ड पुग्ने पर्यटकको चहलपहल बढेको बताए । पर्यटकको आगमनले लामो समयदेखि प्रभावित व्यवसायमा पुनः आशा जगाएको उनको भनाइ छ ।
लाङटाङ भ्रमणमा पुगेका नुवाकोटको नर्जाकी शारदा खनाल र उनका छोराले पदमार्ग सहज रहेको प्रतिक्रिया दिएका छन् । बाढीका कारण बाटो अप्ठ्यारो हुन सक्ने आशङ्का भए पनि यात्रा सहज र सुरक्षित भएको उनीहरूको अनुभव छ ।
लाङटाङका स्थानीय होटल व्यवसायी निमा लामाले पनि पर्यटकको आगमन पुनः सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयपछि पर्यटक देखिन थालेकाले आगामी दिनमा व्यवसाय थप चलायमान हुने उनको विश्वास छ ।
शरद ऋतुको पर्यटकीय याम सुरु हुनु र मौसममा सुधार आउनुले रसुवाका विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढाउन सहयोग पुगेको छ । लाङटाङको क्याङजेन क्षेत्र, हिमनदी तथा आसपासका मनोरम प्राकृतिक दृश्यले पर्यटकलाई आकर्षित गरिरहेका छन् ।
पर्यटकको चहलपहल बढेसँगै स्थानीय व्यवसायीमा उत्साह थपिएको पर्यटन व्यवसायी डिण्डुप तामाङले बताए । उनका अनुसार पछिल्लो समय लाङटाङ र गोसाइँकुण्डको पदयात्रा युवा पुस्तामाझ पनि लोकप्रिय बन्दै गएको छ ।
सङ्घका अनुसार अहिले दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटक लाङटाङ र गोसाइँकुण्ड पुग्ने क्रम बढिरहेको छ । क्यान्जिन क्षेत्रका होटल व्यवसायी ग्याल्बु तामाङले पदमार्ग सहज र सुरक्षित बनेपछि रसुवाको पर्यटन उद्योगले पुनः गति लिन थालेको बताए ।




