काठमाडौं । कोशी प्रदेश सरकारले खोटाङ जिल्लाका सडक, सडक पुल तथा झोलुङ्गे पुल निर्माणसम्बन्धी ६ वटा पूर्वाधार आयोजनालाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउन स्रोत सहमति प्रदान गरेको छ। नेपाली कांग्रेसका नेता तथा कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। उनका अनुसार प्रदेश सरकारले २०८३ असोज २८ गते ती आयोजनालाई बहुवर्षीय योजनामा समावेश गर्न स्रोत सहमति दिएको हो।
राईले आफू मन्त्रीको जिम्मेवारीमा रहँदा बजेट विनियोजन गर्दै यी आयोजनालाई बहुवर्षीय योजनामा लैजान आवश्यक प्रक्रिया सुरु गरेको उल्लेख गरेका छन्। पूर्वाधार विकासमा पछि परेको खोटाङ जिल्लाको समग्र विकासका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रदेश सरकारबाट स्रोत सहमति प्राप्त आयोजनामध्ये दिक्तेल अस्पताल चोकदेखि साप्सुखोला सडक कालोपत्रे योजनाका लागि १० करोड रुपैयाँ र साप्सुखोला–मातिम–मानेभञ्ज्याङ सडक कालोपत्रे योजनाका लागि ८ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यसैगरी, केपिलासगढी गाउँपालिका–१ अन्तर्गत फेदी तपस्वीदेखि सुम्दे जोड्ने छामुवा–तापखोला दोभान झोलुङ्गे पुल निर्माणका लागि १ करोड १६ लाख रुपैयाँ तथा फेदी तोमानेदेखि छेम्सुने जोड्ने नोक्ति खोला झोलुङ्गे पुल निर्माणका लागि ४५ लाख ३६ हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ।
यसैगरी, साकेला गाउँपालिकामा गिद्धे दोभानस्थित साप्सुखोलामा सडक पुल निर्माणका लागि ८ करोड ५२ लाख ५५ हजार रुपैयाँ र केपिलासगढी गाउँपालिका–१ को फेदी तापखोलामा सडक पुल निर्माणका लागि ८ करोड ९३ लाख ६३ हजार रुपैयाँको स्रोत सहमति प्रदान गरिएको राईले जनाएका छन्।
उल्लेखित ६ वटा आयोजनाको कुल लागत ३७ करोड ७ लाख ५४ हजार रुपैयाँ रहेको छ। यी आयोजनाहरू कार्यान्वयनमा आएमा जिल्लाका विभिन्न स्थानमा सडक पहुँच विस्तार, आवागमन सहज बनाउन तथा स्थानीय पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राईले खोटाङका केही महत्त्वपूर्ण आयोजना भने बहुवर्षीय योजनामा समावेश हुनबाट छुटेको पनि उल्लेख गरेका छन्। छुटेका योजनालाई आगामी दिनमा समावेश गराउन निर्णायक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले जिल्लाको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन्।
बहुवर्षीय योजनामा स्रोत सहमति प्राप्त भएका आयोजनाहरू :
१, दिक्तेल अस्पताल चोक–साप्सुखोला सडक कालोपत्रे — १० करोड रुपैयाँ
२, साप्सुखोला–मातिम–मानेभञ्ज्याङ सडक कालोपत्रे — ८ करोड रुपैयाँ
३, छामुवा–तापखोला दोभान झोलुङ्गे पुल — १ करोड १६ लाख रुपैयाँ
४, नोक्ति खोला झोलुङ्गे पुल — ४५ लाख ३६ हजार रुपैयाँ
५, गिद्धे दोभानस्थित साप्सुखोला सडक पुल — ८ करोड ५२ लाख ५५ हजार रुपैयाँ
६, फेदी तापखोला सडक पुल — ८ करोड ९३ लाख ६३ हजार रुपैयाँ
https://www.facebook.com/profile.php?id=100039975038420













