काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र रहेका कमजोरी र विकृतिहरू हटाउँदै संगठनलाई थप सुदृढ बनाएर अघि बढ्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले पार्टी आन्तरिक विवाद र अलमलमा मात्रै रुमल्लिएर बस्न नहुने बताए । उनले पार्टीभित्रका कमजोरी सच्याउँदै संगठनलाई स्वच्छ, व्यवस्थित र प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।‘अब हामी घरभित्र अलमलिएर बस्ने होइन । पार्टीलाई थप सफा बनाएर लैजानुपर्छ, पार्टीभित्रको फोहोर पनि सफा गरेर लैजानुपर्छ,’ उनले भने ।
थापाले विभिन्न पुस्तालाई जोड्दै कांग्रेसलाई समयानुकूल बनाउनु आवश्यक रहेको बताए । सामाजिक सञ्जालमा लोकप्रिय हुने प्रतिस्पर्धामा मात्रै केन्द्रित भएर पार्टीले आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न नसक्ने उनको भनाइ थियो ।‘अब कसले सुन्छ, कसले सुन्दैन भनेर रिल्सको पछि कुदेर हुँदैन । विभिन्न मुद्दा र विषय छन् । यी विषयमा बन्द कोठामा बसेर चिन्तन गर्नुपर्छ, बहस गर्नुपर्छ,’ उनले भने ।
कांग्रेसले बदलिँदो समय र जनताको अपेक्षाअनुसार विभिन्न पुस्ताका विचार, अनुभव र आवाजलाई समेटेर अघि बढ्नुपर्ने थापाले बताए । पार्टीलाई गतिशील बनाउन आन्तरिक छलफल, वैचारिक बहस र नीतिगत सुधारलाई प्राथमिकता दिनुपर्ने उनको धारणा थियो ।
सभापति थापाले आफू पार्टीको आन्तरिक काममै धेरै अल्झिएर नबस्ने पनि स्पष्ट पारे । देशभर पुगेर जनतासँग प्रत्यक्ष भेटघाट गर्ने र पार्टीको बाह्य गतिविधिमा बढी समय खर्चिने आफ्नो योजना रहेको उनले बताए ।
पार्टीको आन्तरिक व्यवस्थापन तथा संगठन सञ्चालनको जिम्मेवारी उपसभापति, महामन्त्रीलगायत केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने थापाको भनाइ थियो ।




