विराटनगर । कोशी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०८२/८३ को सातौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले प्रतिवेदन सभामा पेस गरेका हुन् । प्रतिवेदन पेस भएपछि सभामुख अम्बरबहादुर विष्टले त्यसलाई सुशासन तथा योजना समितिमा पठाउने जानकारी दिए ।
बैठकमा मन्त्री शेर्पाले सवारी चालक अनुमतिपत्रका लागि चिकित्सा मापदण्डअनुसार काम भइरहेको बताए । प्रदेशसभा सदस्यहरूले शून्य समय र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै उनले सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले उपलब्ध गराउने रकम सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पठाइसकिएको जानकारी दिए ।
उनका अनुसार प्रदेशका विपद् जोखिम क्षेत्रको नक्साङ्कन भइसकेको छ र त्यसलाई प्रत्येक वर्ष अद्यावधिक गरिन्छ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरिने पनि उनले स्पष्ट पारे ।
बजेट असन्तुलन सम्बोधन गर्ने प्रतिबद्धता
बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले बजेटमा देखिएको असन्तुलनसम्बन्धी असन्तुष्टि छिट्टै सम्बोधन गरिने बताए । उनले प्रत्येक निर्वाचन क्षेत्रमा बहुवर्षीय योजना समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री लिङ्थेपले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा (एमाले)को गठबन्धनबाट बनेको प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरिसकेको र त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए ।
उनका अनुसार कोशी प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पुँजीगत खर्च ७२.७३ प्रतिशत पुगेको छ । उनले यसलाई अन्य प्रदेशको तुलनामा सकारात्मक उपलब्धिका रूपमा व्याख्या गरे ।
चाडपर्वमा बजार अनुगमन गर्न माग
यसअघि बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले चाडपर्व नजिकिँदै गर्दा बजारमा ग्यासको कृत्रिम अभाव देखिएको, दैनिक उपभोग्य वस्तुको मूल्य बढेको र आवश्यक सामग्रीको अभाव सिर्जना भएको विषय उठाइन् ।
उनले बजारमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराउँदै उपभोक्ताले सहज रूपमा आवश्यक वस्तु प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् ।
प्रदेशसभाको अर्को बैठक शनिबार बिहान ११ बजे बस्नेछ ।




