देश

कांग्रेसको १५औँ महाधिवेशन वर्तमान र भविष्यबारे गम्भीर छलफल गर्ने थलो बन्नुपर्छ : उपसभापति भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसको १५औँ महाधिवेशन पार्टीको वर्तमान अवस्था र भविष्यबारे गम्भीर छलफल तथा संवाद गर्ने थलो बन्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौंको खुलामञ्चमा आयोजित महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भुसालले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेको कांग्रेसले आफ्नो वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी बाटो तय गर्नुपर्ने बताइन् ।

‘२००४ सालदेखि लोकतन्त्रका लागि संघर्ष गरेर इतिहास बनाएको नेपाली कांग्रेसको वर्तमान र भविष्यको चिन्ता गर्ने, संवाद गर्ने थलोको रूपमा यो महाधिवेशन हुन गइरहेको छ,’ उनले भनिन् ।

भुसालले महाधिवेशन केवल पद व्यवस्थापन र नेतृत्व चयनका लागि मात्र सीमित हुन नहुने बताइन् । कांग्रेसका नेता–कार्यकर्तामात्र नभई लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले पार्टीको अवस्थाबारे आत्मसमीक्षा गर्ने अवसरका रूपमा महाधिवेशनलाई लिनुपर्ने उनको भनाइ छ ।

‘यो महाधिवेशन पद व्यवस्थापन गर्नका लागि मात्र भइराखेको छैन । यो महाधिवेशन कांग्रेसका नेता र कार्यकर्ता मात्रै होइन, लोकतन्त्र र कांग्रेसमा विश्वास गर्ने सबैले आत्मसमीक्षा गर्ने थलो बन्नुपर्छ,’ भुसालले भनिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *