देश

राष्ट्रियसभाद्वारा शोक प्रस्ताव पारित

काठमाडौं।राष्ट्रियसभाको आजको बैठकले पूर्व प्रतिनिधिसभा सदस्य घनेन्द्र बस्नेतको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।लोकतान्त्रिक आन्दोलनका अगुवा बस्नेतको ७४ वर्षको उमेरमा बुधबार निधन भएको थियो।

प्रतिनिधिसभाका पूर्व सदस्य बस्नेतको निधनमा राष्ट्रियसभाले शोक व्यक्त गरेको छ। स्वर्गीय बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फबाट २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा संखुवासभा निर्वाचन क्षेत्र नं २ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा भोजपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।

शोक प्रस्ताव पारित भएपछि सदनले दिवङ्गत बस्नेतको सम्मानमा एक मिनेट मौनधारण गरेको थियो। बैठकले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

यसअघि आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०/८१’ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरीले समितिको वार्षिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्। संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राईले समितिको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरिन्।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले समितिको ‘आन्तरिक वायु सेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ प्रतिवेदन पेस गरे। सभाका सचिव तुलबहादुर कँडेलले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरे। राष्ट्रियसभाको अर्को बैठक यही असोज १६ गते शुक्रबार दिउँसो १ः१५ बजे बस्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *