काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।
महाधिवेशनको उद्घाटन समारोह आज हुनेछ भने भोलि र पर्सि बन्दसत्र सञ्चालन हुने कार्यतालिका रहेको छ । महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सोमबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसपटक कांग्रेसको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान नहुने भएको छ । मतदान विद्युतीय मेसिनबाट नभई ब्यालेट पेपरमार्फत गराउने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ ।
यसअघि नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महाधिवेशनमा विद्युतीय मतदान गर्दा अपेक्षाकृत बढी समय लागेको भन्दै कांग्रेसले ब्यालेट पेपरबाटै मतदान गराउने निर्णय गरेको बताइएको छ ।
कांग्रेसले नयाँ नेतृत्व चयनका लागि असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका तय गरेको छ । खुलामञ्चमा उद्घाटन समारोह तथा बन्दसत्र सञ्चालन गर्ने तयारी गरेको कांग्रेसले मतदान भने राष्ट्रिय सभा गृह र नेपाल प्रज्ञा–प्रतिष्ठानमा गर्ने तयारी गरेको छ ।




