देश

सुरु भयो एमाले सचिवालय बैठक, केन्द्रीय कमिटी बैठक आजै सकिने

काठमाडौ। एमाले केन्द्रीय सचिवालयको बैठक पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको छ ।

जारी केन्द्रीय कमिटीको बैठक चलिरहेकै अवस्थामा बोलाइएको यो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सदस्यहरूले राखेका सुझावलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी गरिएको छ ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ ।

राजनीतिक प्रतिवेदनमाथिको छलफलसँगै पार्टीको सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण मानिने स्थायी कमिटी र पोलिटब्युरो गठनको विषयमा पनि बैठकमा गहन छलफल हुने कार्यसूची छ ।

पार्टीका उच्च नेताहरूका अनुसार यो सचिवालय बैठकले पार्टीका विभिन्न निकायलाई पूर्णता दिने र आगामी राजनीतिक कार्यदिशालाई थप स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीको बैठक जारी रहँदा सचिवालयको यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ । एमालेमा नेतृत्व परिवर्तन हुने कि नहुने भन्ने चासो पनि यही बैठकले टुंगो लगाउने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *