भक्तपुर। जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी १७९ वटा मुद्दा दर्ता गरेको छ । परिसरले आज एक महिनामा भएका अपराधका घटनाबारे जानकारी दिँदै दर्ता भएका मुद्दामध्ये ५७ वटा फछ्र्योट भएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए ।
एक महिनाको अवधिमा भक्तपुरमा जघन्य अपराधतर्फ हत्या एक, जबर्जस्ती करणी पाँच, लागुऔषधका तीन र हातहतियार खरखजनातर्फ एक गरी कुल १० वटा मुद्दा दर्ता भई कारबाहीका लागि गएको उहाँले जानकारी दिए ।
आर्थिक अपराधतर्फ कुल ९६ वटा मुद्दा दर्ता भएकामा सबैभन्दा बढी बैंकिङ कसुरका ७७ वटा र ठगीका १९ वटा मुद्दा रहेको र १२ वर्ष पुरानो सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको जानकारी दिए ।
त्यसैगरी, अदालतबाट सजाय तथा जरिवाना ठहर भई फरार रहेका ६५ जना प्रतिवादी पक्राउ गरिएको र कुल ४४ वर्ष छ महिना तीन दिन कैद सजाय भुक्तानका लागि पठाइएको जानकारी दिए ।
यस क्रममा एक करोड २२ लाख १९ हजार ५७० रुपैयाँ जरिवाना असुली गरिएको जानकारी दिए ।
त्यसैगरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित नौ वटा मुद्दा दर्ता भएको घरेलु हिंसातर्फ परेका १३ वटा उजुरी परेको, जिल्लामा कुल २३ वटा सवारी दुर्घटनामध्ये एक जनाको मृत्यु र ३५ जना घाइते भएको, दुई हजार ९४७ वटा सवारी साधनलाई कारबाही गरी १३ लाख ९२ हजार ५०० राजस्व सङ्कलन गरेको उहाँले जानकारी दिए ।
प्रहरीले सृजनानगरबाट १९ वर्षीय रामकृष्ण शर्माको साथबाट १२ राउन्ड अवैध गोली बरामद गर्नुका साथै कर्तव्य ज्यान मुद्दा चाँगुनारायणका राकेश पराजुली र भक्तपुरका किशोर चौगुठीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी दीपककुमार कार्कीले जानकारी दिए ।




