खेलकुद

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको शनिबार बिदाइ गरिएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जापानको नागोयामा आयोजना हुने एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ गरेको हो।

प्रतियोगिताका सबै क्रिकेट खेल जापानको नागोयास्थित पालोमा मिजुहो रंगशालामा टी–२० ढाँचामा सञ्चालन हुनेछन्।

पुरुष क्रिकेटमा नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग परेको छ। समूह चरणका खेल सेप्टेम्बर २४ देखि २६ सम्म सञ्चालन हुनेछन्। नेपालले सेप्टेम्बर २५ मा अफगानिस्तान र सेप्टेम्बर २६ मा आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, समूह ‘बी’ मा हङकङ चीन, मलेसिया र ओमान रहेका छन्।

समूह चरणपछि क्वार्टरफाइनलका खेल सेप्टेम्बर २८ र २९ मा हुनेछन्। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले क्वार्टरफाइनल चरणबाट प्रतियोगिताको यात्रा सुरु गर्नेछन्। सेमिफाइनल अक्टोबर १ तथा कांस्य पदकका लागि खेल र फाइनल अक्टोबर ३ मा हुने तालिका छ।

प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। टोलीमा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन्।

सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो। पाकिस्तानलाई पराजित गर्दै बंगलादेशले कांस्य पदक जितेको थियो। महिला क्रिकेटतर्फ भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *