काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई पारदर्शी, सुरक्षित र प्रतिफलमुखी बनाइने बताएका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै मन्त्री वाग्लेले मुलुकको आम्दानी र खर्चबीच रहेको खाडल पूर्ति गर्न आन्तरिक तथा बाह्य स्रोतको सन्तुलित परिचालन आवश्यक रहेको बताए ।
राष्ट्रिय बचतले मात्र मुलुकको लगानी आवश्यकता धान्न नसक्ने भन्दै उनले जनताको रकम जम्मा गरेर निर्माण भएका सार्वजनिक कोषलाई प्रतिफलमुखी र सुरक्षित ढङ्गले परिचालन गर्नुपर्नेमा जोड दिए ।
मन्त्री वाग्लेले सार्वजनिक कोषको लगानीलाई कति लचिलो बनाउने भन्ने विषयमा सरकार जोखिम व्यवस्थापनप्रति गम्भीर रहेको स्पष्ट पारे ।
विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूले नागरिक लगानी कोषलाई समयानुकूल विकास गर्दै लगानीयोग्य र प्रभावकारी बनाउन सुझाव दिएका थिए । कोषले हाल तीन खर्ब ३७ अर्ब रुपैयाँ बचत व्यवस्थापन गरिरहेकाले सुरक्षित, प्रतिफलयुक्त र पारदर्शी लगानी विस्तार गर्न उनीहरूले आग्रह गरेका छन् ।
छलफलमा सांसदहरू सुशील खड्का, कृष्णहरि बुढाथोकी, नीतिमा भण्डारी कार्की, माधवबहादुर थापा, सीताराम साह, प्रभा ढकाल, जनकसिंह धामी, मञ्जु भुसाल, देवराज पाठक, गोविन्द पन्थी, प्रभा कार्की, परशुराम तामाङ, अमृता विक, राधिका रम्तेल, श्रीराम न्यौपाने र गणेशबहादुर विश्वकर्माले भाग लिएका थिए ।
यस्तै प्रेमलाल चौधरी, आशिष गजुरेल, बलावती शर्मा, ललिता कुमारी, गोपाल शर्मा, पुकार बम, निराशा चौधरी डगौरा, हरिमोहन भण्डारी, ज्ञानेन्द्रसिंह महता, बोधनारायण श्रेष्ठ, विश्वराज पोखरेल, एशुदाकुमारी बराल, गुरूप्रसाद बारल, अम्बिकादेवी सङ्ग्रौला, मधुकुमार चौलागाईँ र भरत गिरीले पनि छलफलमा धारणा राखेका थिए ।
विधेयकमाथि अब सांसदहरूले दिने संशोधनका आधारमा सम्बन्धित समितिमा दफावार छलफल हुनेछ । प्रतिनिधि सभाको बैठक जारी छ ।




