देश

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय सदस्यले धारणा राख्ने

 

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन बिहान नौ बजेबाट सुरु हुँदैछ ।

पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा भइरहेको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु हुनेछ । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको आचार्यले जनाए ।

अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका नौ वटा एजेण्डामध्ये आठ वटाको कारबाही आजबाट सुरु हुने हो । आजबाट क्रमशः केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय, विभागहरुको गठन, पोलिटव्यूरो गठन, स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी छ ।

यसैगरी, सल्लाहकार परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्ने छ ।

एमाले स्रोतका अनुसार आज केन्द्रीय सदस्यहरुको मनोनयन गरेर बैठकमा धारणा राख्ने क्रम सुरु हुनेछ । पोलिटव्यूरो, स्थायी कमिटी लगायत नेताहरुको जिम्मेवारी बाँडफाँड भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिए ।

हिजोको बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *