देश

नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसाबले संवेदनशील क्षेत्रमा रहेको बताएकी छन्।

शनिबार काठमाडौँमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूका बीचमा नेपाल रहेकाले देशका आवश्यकता र समस्याप्रति संवेदनशील भएर दीर्घकालीन नीति बनाउनुपर्नेमा जोड दिइन्।

नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकको बीचमा रहेको उल्लेख गर्दै उनले नेपालको भौगोलिक अवस्थिति र संवेदनशीलतालाई राज्यले दीर्घकालीन योजनामार्फत सम्बोधन गर्नुपर्ने बताइन्।

नेपाल प्राकृतिक सुन्दरता र महत्त्वका हिसाबले सम्पन्न भए पनि विपद् तथा अन्य समस्याको दीर्घकालीन समाधानमा पर्याप्त ध्यान पुग्न नसक्दा पटक–पटक तत्कालीन समस्यासँग जुध्नुपरेको उनको भनाइ थियो।

‘भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमा छौँ। ठूलाठूला जनसङ्ख्या भएका र धेरै विकास गरेका देशहरूको बीचमा छौँ,’ उनले भनिन्, ‘प्राकृतिक सुन्दरता र महत्त्वका हिसाबले हामी सम्पन्न छौँ। तर हामीलाई आइपर्ने हरेक समस्याको दीर्घकालीन समाधान खोज्नुभन्दा तत्कालीन समस्या समाधानमै सीमित भइरहेका छौँ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल भौगोलिक तथा राजनीतिक रूपमा संवेदनशील अवस्थामा रहेकाले विपद् व्यवस्थापन, जलवायु परिवर्तन तथा अन्य राष्ट्रिय समस्याको दीर्घकालीन समाधानका लागि राज्यले स्पष्ट नीति र योजनासहित अघि बढ्नुपर्ने बताइन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *