काठमाडौँ। राष्ट्रिय सभाका सांसदहरूले चाडपर्व नजिकिँदै गर्दा बजारमा खाद्यान्नको आपूर्ति सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद सोनाम गेल्जेन शेर्पाले चाडपर्वमा खाद्यान्न आपूर्ति सहज बनाउन, बजार अनुगमन प्रभावकारी बनाउन तथा कालोबजारी अन्त्य गर्न सरकारसँग माग गरे । उनले अत्यावश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गरी जनतालाई राहत दिन आग्रह गरे ।
सांसद भुवनबहादुर सुनारले ग्रेजोन मिडियामा नेपालसम्बन्धी प्रकाशित समाचारबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरे ।
सांसद मदनकुमारी शाह (गरिमा)ले जापानका लागि राजदूत सिफारिस भएका व्यक्तिको जापानमा ‘पिआर’ रहेको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गरिन् ।
सांसद युवराज शर्माले शिक्षा, स्वास्थ्य, व्यापार तथा जनताको सुरक्षाका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद राजेन्द्रलक्ष्मी गैरेले केही दिनअघि त्रिपुरेश्वर चोकमा चालकसँग भएको विवाद र चालकले आत्मदाह गरेको घटनाबारे सरकारसँग स्पष्ट जानकारी माग गरिन् । त्यस्तो अवस्थामा राज्यका निकायले संवादमार्फत समस्या समाधानको प्रयास गर्नुपर्नेमा त्यसो नभएको भन्दै उनले टिप्पणी गरिन् ।
सांसद सुरेशकुमार आलेमगरले भोटेकोशीमा आएको बाढी जलवायु परिवर्तनका असरका कारण भएको बताउँदै जलवायु अनुकूलनका क्षेत्रमा स्थानीय आदिवासी जनजातिसँग भएका सीप र अनुभवको उपयोग गर्नुपर्नेमा जोड दिए ।




